
महोत्तरी(औरही) - स्थानीय तह निर्वाचनका लागि महोत्तरीको सदरमुकाम जलेश्वर लगायत जिल्ला भरिका विभिन्न पालिकाको सार्वजनिक स्थानमा राखिएका आचारसंहिता विपरीतका प्रचार साम्रगी हटाइएको छ ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत दिपक कुमार खरेल जानकारी दिए । यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो । महोत्तरीको औरही नगरपालिकामा राखिएको डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झन्डा, ब्यानर प्रहरीले हटाएको हो ।
निर्वाचन आचारसंहिता २०७८ मा उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३x३ फिटको दलको झण्डा, त्यही नापको चुनाव चिह्नबाहेक दलको प्रचार-प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स बोर्डलगायतका श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीका प्रमुख निर्वाचन अधिकृत दीपककुमार खरेलले जिल्लामा भएका अन्य निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न अन्य निर्वाचन अधिकृतको कार्यालयलाई पनि जानकारी गराएको बताए ।






