
धनुषा।धनुषामा परिवारकै सदस्यबाट हत्याका घटनाहरुमा वृद्धि भएको देखिन्छ । पछिल्लो समयमा वैदेशिक रोजगार, समाजमा बढ्दो लोभ, लालचका कारण परिवारकै व्यक्तिबाट हत्याका घटनाहरुमा वृद्धि भएको देखिन्छ । इन्सेक धनुषाको अभिलेखमा २०७७ पुसदेखि २०७८ भदौ १३ गतेसम्म धनुषामा परिवारकै व्यक्तिबाट हत्याका घटनामा बृद्धि भएको देखिन्छ । धनुषामा अपराधिक घटनाका साथै मानवअधिकारसंग सरोकार राख्ने हत्या, हिंसा, बलात्कार, यौनहिंसा, घरेलु हिंसाका घटनामा वृद्धि भएको देखिन्छ ।
०७८ भदौ ८ गते विहान मथिला विहारी नपा–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले २५ वर्षीया पत्नी अमृता मण्डल र ५५ वर्षीय बुबा रामवृक्ष मण्डललाई टाउकोमा भाँट प्रहार गरिनुको साथै घाँटी थिचेर हत्या गरेका छन् । भदौ ८ गते पारिवारिक कलहले गर्दा छोराले वुवा र पत्नीको हत्या गरेका हुन् । छोरा बैदेशिक रोजगारीको क्रममा हुँदा ससुरा र बुहारीविच अनैतिक सम्बन्धले प्रसय पाएपछि भदौ ८ गते राति १२ बजे भागेश्वरले आफनै पत्नी र वुवाविचको अनैतिक सम्बन्ध आफनै आँखाले देखेपछि रिस थाम्न नसकेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका हुन् । घटनाको अनुसन्धानको क्रममा हत्या आरोपित भागेश्वर मण्डल जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा रहेको छ ।
०७८ वैशाख १७ गते राति धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीमा ३५ वर्षीय शम्भू मण्डललाई २५ वर्षीया पत्नी सुशीला मण्डल र मृतकका भाई २४ वर्षीय सुनिल मण्डल र २३ वर्षीय सञ्जय मण्डलले धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए । शम्भु मण्डल वैदेशिक रोजगारीमा हुँदा भाउजु शुशिला र देवर सुनिल मण्डलविच अनैतिक सम्बन्ध गाँसिएको थियो । भाउजु र देवरविचको अनैतिक सम्बन्धबारे श्रीमानले थाहा पाएपछि पत्नी र भाइले योजनावद्ध तरिकाले हत्या गरे । हत्या आरोपित शुशिला देवी मण्डल, सुनिल मण्डल र संजय मण्डल पूर्पक्षका लागि कारागारमा छन् ।
०७८ असार ४ गते राति धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपही बस्ने २२ वर्षीया प्रियांका देवी पासवानको २८ वर्षीय पति सन्तोष पासवानले घाँटी थिचेर हत्या गरे । असार ४ गते राति सुत्ने बेलामा पत्नीको परपुरुषसंग अनैतिक सम्बन्ध रहेको विषयमा पति सन्तोष पासवानले शंका भएको विवाद हत्या घटनामा परिणत भयो । पत्नी अरूसित लागेको सन्तोषको आशंकाले रिस थाम्न नसकेर उनले पत्नीको घाँटी थिचेर हत्या गरे । पत्नी हत्या आरोपित सन्तोष पूर्पक्षका लागि कारागारमा छन् ।
०७७ फागुन ४ गते कमला नपा–२ माचि झिटकैया बस्ने ४० वर्षीया शर्मिला देवीको फागुन ४ गते घाँटि थिचेर ४५ वर्षीय खुशीलाल गडेरीले घाँटी थिचेर हत्या गरेका छन् । घर भन्दा १ किलोमिटर पर कमला नपा–२ स्थित खेतमा मृतकको लास फेला परेको थियो । आरोपित गडेरीको स्थानिय युवा सुनिल महतोसँग अनैतिक सम्बन्ध रहेको थाहा पाएर रिसाएका आरोपित खुशीलालले पत्नीको घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष वयान दिएका छन् । आरोपित हाल पूर्पक्षका लागि कारागारमा छन् ।
०७७ माघ १५ गते उदयपुर जिल्ला त्रियुगा नगरपालिका–७ चुओर स्थायी घर भई क्षिरेश्वरनाथ नगरपालिका –७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको माघ १५ गते राति क्षिरेश्वरनाथ नपा–७ दुर्गा टोल बस्ने ३५ वर्षीय सालो निरज खातीले बाँसको भाटा प्रहार गरि हत्या गरेका छन् । माघ ३० गते गिरफतार भएका निरज खाँतीलाई जिल्ला अदालत धनुषाले १ लाख रुपियाँ धरौटीमा फागुन २६ गते रिहा गरेका छन् ।
०७७ पुस १७ गते दिउँसो विदेह नपा–२ बस्ने ६ वर्षीय बालक नन्दन राउत अमात्यको अपहरण गरि हत्या गरेको अवस्थामा शव फेला प¥यो । नन्दन राउत अमात्यको हत्यामा विदेह नपा–२ बस्ने २३ वर्षीया फुपु प्रर्मिला देवी अमात्य, बाजे ५० वर्षीय ब्रह्मदेव राय, बज्यै ४५ वर्षीया गुलावी देवीलगायत संलग्न रहेको थिए । आरोपितहरु जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि कारागारमा छन् ।
०७७ कार्तिक २९ गते विहान जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने २१ वर्षीया आरती साह र चार वर्षीया छोरी रिया साह उपर २७ वर्षीय पति संजय कुमार साहले एसिड प्रहार गरि हत्या प्रयास गरे । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायत शरिरको २५ प्रतिशत भाग जलेको छ । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ । आरोपित संजय कुमार साहलाई भदौ १० गते जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिना कैद सजाय र ६लाख ५० हजार जरिवाना र सोही बरावरको क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।
०७८ जेठ २० गते मोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको घाँटी थिचेर ३२ वर्षीय देवर रुपेश ठाकुरले हत्या गरे । हत्या गरेर शवलाई निर्माणाधिन शौचालयको जगमा गाडेका थिए । परपुरुषसंग अनैतिक सम्बन्ध रहेको थाहा पाएर देवर रुपेश ठाकुरले भाउजुको हत्या गरि शव लुकाएर राखे । सुजिताको हत्या घटनामा संलग्न ३२ वर्षीय देवर रुपेश ठाकुर, पिपरा गाउँपालिका– ६ रतौली बस्ने वर्ष ५० वर्षीय वुवा कामेश्वर ठाकुर, सुजिताकी नन्द भंगहा नगरपालिका– १ कबिलाशा बस्ने वर्ष ३५ की अञ्जु ठाकुरलाई जिल्ला अदालत महोत्तरीले पूर्पक्षका लागि कारागार पठाएको छ ।
समाजमा बढ्दो वैदेशिक रोजगारीले आर्थिक रुपमा सवल बनाएपनि घरमा भने आन्तरिक कलह बढाएको छ । घरमा पारिवारिक कलह, प्रेम र अनैतिक सम्बन्धका कारण परिवारकै व्यक्तिहरुबाट महिला हत्या गरिने क्रममा बढ्दो देखिएको छ । पछिल्लो समयमा धनुषासहित प्रदेश २ मै यस्ता घटनाले प्रसय पाएका छन् ।
महिलाको पर पुरुषसंगको अवैध सम्बन्ध रहेको आंशकामा श्रीमान, देवर, सासु, ससुराबाटै हत्या भएको घटना हुनु निकै दुःखद र निन्दनीय भएको ओरेक नेपाल धनुषा परियोजना संयोजक रोजलिन सिंह बछार बताइन् । पुरुष बैदेशिक रोजगारी क्रममा वा अन्य कामले लामो समय घर बाहिर रहने र श्रीमती घरका सदस्या तथा अन्य व्यक्तिसंग बोल्दैमा वा अनैतिक सम्बन्ध गाँसेकै आधारमा परिवारकै व्यक्तिले महिलाको हत्या नै गरिनुको कारुणिक विषय बनेको बताइन् । ओरेकमा श्रीमती पुरपुरुषसंग बोल्यो, जिस्क्यो, हाँस्यो भन्दै कुटपिट गरि हत्या गर्ने प्रयासका घटनाहरु दिनहुँ आई रहेकाले घटनाको मुल जडोलाई न्युनिकरण नगरि वा समस्या आउनुको कारण नखोजी सिधै महिलालाई आरोप लगाई कुटपिट गरिनुको साथै हत्या गरिनु निकै ठुलो अपराध भएको महिला अधिकारकर्मी सुभद्रा आलेले बताइन् ।
‘परिवारमा आर्थिक, सामाजिक मर्यादाविपरीतको गतिविधि, सामाजिक अनुशासन, सम्पत्तिमा लोभ र प्रतिशोधका कारण परिवारकै सदस्यबाट हत्याको घटनामा वृद्धि हुनु समाजका लागि घातक भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले बताउनुभयो । परिवारकै व्यक्तिमा प्रतिशोधको भावनाले परिवारकै व्यक्तिको हत्या गरिनुमा वैदेशिक रोजगारीको फ्याक्टर पनि जोडिन्छ । ‘वैदेशिक रोजगारले घरघरमा आफ्नै खालका कलह सृजना गरेकाले यसतर्फ समाजका अगुवाहरु सचेत हुनुपर्ने बताए ।
घरपरिवारमै आफन्तबाटै हत्यासम्मको घटना बढेपछि प्रदेश २ प्रहरी कार्यालयले यसको सामाजिक, मानसिक र पारिवारिक कारण केलाउँदै कारबाहीसँगै चेतनामूलक अभियान थाल्नुपर्ने विषयमा छलफल अघि बढाएको बताए ।
जनकपुरका मनोचिकित्सक डा.रोविन झाले व्यक्तिमा नकारात्मक सोच हावी भएर यस्ता घटना हुने गरेको बताए । घरपरिवारको कलहले निम्त्याएको रिस थाम्न नसकेपछि हत्यासम्मको घटना हुने गरेको डा. झाको बुझाई छ । डा.झाले व्यक्तिले रिस सहन नसकेर सानो विषयलाई पनि ठूलो मुद्दा बनाएपछि मान्छे झन्झन् रिसाहा बन्छ । उसमा बदलाको भावनाले जग गाडेपछि हत्याको घटना गर्ने गरेकोले यस्ता मनोप्रवृत्तिको पनि उपचार गर्न सकिने बताए ।
