
तस्वीर : दिपक पाण्डे
तराई-मधेशका जिल्लाहरुमा आज कृष्णाजन्माष्टमीको धुमधाम छ । प्रदेश २ का महोत्तरीसहित धनुषा,सिरहा,सर्लाही, सप्तरी,रौतहट,बारा,पर्सा लगायतका जिल्लाहरुमा भगवान श्रीकृष्णको प्रतिमा निर्माण गरेर भव्य मेलाको आयोजना गरिदै छ । लगातार दोश्रो वर्ष कोरोनाले गर्दा महोत्तरी जिल्लाको विभिन्न ठाँउमा कृष्णाजन्माष्टमी मेला औपचारिकतामा सीमित भएको छ । महोत्तरीका विभिन्न ठाँउहरुमा प्रत्येक वर्ष श्रीकृष्णाजन्माष्टमी फरकफरक तरिकाले मनाउँदै आएका छ्न।
यस वर्ष पनि कोरोनाले गर्दा भव्यता प्रदान गर्न नसकिएको महोत्तरी जिल्लाको औरही नगरपालिका २ का स्थानीयहरुले बताउनु भएका छ्न। यता, जनकपुरस्थित कृष्ण मन्दिरमा भव्य रुपमा कृष्णाजन्माष्टमी मनाउँदै छ । कृष्णाजन्माष्टमीको अवसरमा सोमबार बिहान कृष्ण मन्दिरमा सरसफाई कार्यक्रम गरिएको थियो । दशकौंदेखि आयोजना हुँदै आएको महोत्तरीको सुगाको कृष्णाजन्माष्टमी महोत्सव यस वर्ष पनि धुमधामका साथ मनाईंदैछ । सात दिन अघि नै कलशयात्रा गरि प्रारम्भ गरिएको यो महोत्सव मंगलबार समापन हुने मेला आयोजक समितिले जनाएको छ । लगभग ८० वर्ष पुर्व स्थानीय स्व.गणेश पाण्डे तथा हरिशचन्द्र पाण्डे लगायतका व्यक्तिहरुको अगुवाईमा सुरु गरिएको कृष्णाजन्माष्टमी मेला सुगावासीको लागि परम्परा नै बनेको छ । दिनहरु बित्दै जाँदा सो क्षेत्रकै उत्कृष्ट महोत्सवको रुपमा प्रख्यात बनेको छ कृष्णाजन्माष्टमी मेला । तर पछिल्ला वर्षहरुको तुलनामा विगत दुई वर्षदेखि कोरोना संक्रमण , लकडाउन लगायतका कारणले मेला प्रभावित भएको देखिए पनि भक्तजनहरुको आस्थामा बृद्धि नै भएको जनपा –४का वडाध्यक्ष लोकेन्द्र लाल कर्णको भनाई छ ।
हजारौं सुगा गाँउवासीको मात्र नभई सो क्षेत्रकै लाखौं हिन्दु धर्मावलम्बीहरुको आस्थाको पर्व कृष्णाजन्माष्टमी महोत्सव सेवा समितिले आयोजना गर्दै आएको थियो र सोही परम्परालाई स्थानीय निकायले पनि कायम राखेको अध्यक्ष कर्णको भनाई छ । स्थानीयवासीहरुले कृष्णाजन्माष्टमी मेलाको समय नजिकिंदै जाँदा स्वःस्फूर्त रुपमा यथासक्य चन्दा दिने र घर–घरबाट महिला पुरुष सबैले महोत्सवमा सहभागि हुने गरेको सोही गाँउ निवासी पत्रकार धिरेन्द्र रायको बताउँछन । अन्य समयमा दलीय तथा अन्य कारणले गाँउलेहरु बिच कुरा नमिलेपनि मेलाको बेला साराका सारा गाउँ नै कृष्णको भक्तिमा रमाउने गरेका छन ।
यसले कृष्णाजन्माष्टमी जन्मोत्सव सुगावासीको लागि स्नेह र सद्भावको अदभूत नमूना देखिने गरेको स्थानीयवासी शोभित झा बताउँछन् । वर्षौदेखि मेलालाई नजिकबाट नियाल्दै आएका ६५ वर्षिय झा भन्छन –‘ अब त मान्छे संग पैसा नै छैन मेला त पहिले हुन्थ्यो धनुषा महोत्तरी मात्र नभई उदयपुर सम्मका व्यापारीहरुले पसल थाप्थे , भारत बिहारबाट पसल थाप्ने तथा मेला भर्न आउनेहरुको ओइरो नई लाग्थ्यो ।’ तथापि अझै पनि यो परम्परा कायम रहनुले हिन्दुधर्मावलम्बीहरुको आस्थालाई जोगाउने कार्य समेत मेलाले गर्दै आएको सत्य कुरो कसैले नर्कान नसक्ने झाको कथन छ । श्री कृष्ण भगवानको लिलाको चित्रण गर्ने रासलिलाको आयोजना गरिएको छ जोकि विगत सात दिनदेखि प्रत्येक रात प्रदर्शन हुने गरेको छ । भारतको युपी राज्यको बनारसबाट आएको सो टोलीको रासलिला हेर्ने दर्शकहरुको भीड लाग्ने गरेको छ । त्यसै गरि भक्तजनहरुको मांगलाई ध्यानमा राखि भागवत वाचन कार्यक्रमको समेत आयोजना गरिएको छ ।
सोमवार भागवत वाचन कार्यक्रम समेत समापन हुने वडाध्यक्ष कर्णले जनाए । स्थानीय निकायले मेलाको जिम्मेवारी लिए यतादेखि सुगावासीहरुमा मेला प्रतिको उत्साह अझै थपिएको छ । मेला आयोजना गर्न सजिलो नभए पनि सुगावासीहरुको सहयोगी व्यवहारले मेला आयोजन समितिलाई अत्यन्तै सहज भएको अध्यक्ष कर्णले बताए ।