धनुषाधाम (धनुषा) – बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले धनुषाधाम नगरपालिकाका आधारभूत तहका शिक्षकहरूलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी पाँचदिने तालिम प्रदान गरिएको छ ।
धनुषाधाम नगरपालिकाको आयोजना तथा टीईसीएसई परियोजनाको प्राविधिक सहयोगमा कात्तिक १० देखि १४ गतेसम्म सञ्चालन भएको तालिममा छ जना महिलासहित २५ जना शिक्षक सहभागी भएका थिए ।



तालिममा आधारभूत, विषयगत, सीपमूलक तथा समावेशी सिकाइ सामग्री निर्माण र तिनलाई कक्षाकोठामा प्रयोग गर्ने विधिबारे व्यावहारिक अभ्यास गराइएको थियो । समूह छलफल, नमुना प्रदर्शन र अनुभव आदानप्रदानमार्फत शिक्षकहरूलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगमा दक्ष बनाउने प्रयास गरिएको थियो ।प्रत्येक बालबालिकाको भाषा, सञ्चार क्षमता, सिकाइको गति र व्यक्तिगत आवश्यकताअनुसार शिक्षण सामग्री तथा विधि छनोट गर्नुपर्ने विषयमा तालिमका क्रममा जोड दिइएको थियो ।

शैक्षिक सामग्रीको उचित प्रयोगले बालबालिकालाई सहज रूपमा सिक्न, आफ्ना विचार व्यक्त गर्न र कक्षाकोठाका गतिविधिमा सक्रिय सहभागी हुन मद्दत पुग्ने विषयमा समेत छलफल गरिएको थियो ।
त्यसैगरी, शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच सहकार्य आवश्यक रहेको औँल्याइएको थियो । तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा कार्यान्वयन गर्न तथा शैक्षिक सामग्रीको नियमित प्रयोग गर्न सहभागी शिक्षकहरूलाई प्रोत्साहित गरिएको थियो ।
तालिमको उद्घाटन शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोले गर्नुभएको थियो । कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक उज्ज्वल पोखरेल, मन्त्रालयका उपसचिव किशोरी कापर तथा धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण यादवको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी शिक्षकले तालिमबाट सिकेका सीपलाई शिक्षण सिकाइमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो । तालिम प्राप्त शिक्षकहरूले कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग गरे–नगरेको विषयमा मन्त्रालयबाट अनुगमन तथा मूल्याङ्कन गरिने जानकारीसमेत गराइएको थियो ।

तालिमबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन विद्यालयस्तरमा नियमित अनुगमन, पृष्ठपोषण तथा शिक्षकबीच सहकार्य आवश्यक रहेको औँल्याइएको छ । तालिममा विमल गैरे, मन्दिरा न्यौपाने र प्रकाश रेग्मीले प्रशिक्षण दिनुभएको थियो ।

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको टीईसीएसई परियोजना नेपाल सरकार, फिनल्यान्डको परराष्ट्र मन्त्रालय र युरोपेली सङ्घको सहयोगमा मधेश प्रदेशका आठ जिल्लाका आठ पालिकामा कार्यान्वयन भइरहेको छ । परियोजनाले शिक्षकको क्षमता अभिवृद्धि तथा सबै बालबालिकाका लागि समान र समावेशी सिकाइका अवसर विस्तार गर्न प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।




