
धनुषा- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागि हुने तयारी गरेको छ । नेकपा एमालेबाट छुट्टिएर नेकपा समाजवादी दल दर्ता गरे लगतै प्रदेश २ सरकारमा सहभागि हुने तयारी गरेको हो ।
प्रदेश २ मा नेकपा एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना नेपाल पक्षमा छन् । पूर्ववत अवस्थामा एमाले फर्केपछि माधव पक्षले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई १३ सांसदको बहुमत सहित हटाएर सत्रुधन महतोलाई दलका नेता बनाएका थिए । पार्टी औपचारिक विभाजन भएपछि प्रदेश सभामा अहिले पनि माधव पक्ष नै बलियो र एमाले कमजोर देखिएको छ ।
प्रदेश सांसद शत्रुधन महतोले एकीकृत समाजवादी पार्टीका तर्फका प्रदेश सांसदहरुको प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारी रहेको बताउनुभयो । दल विभाजन पश्चात पनि हालसम्म १३ जना प्रदेश सांसद नयाँ दल एसपा कै पक्षमा रहेको महतोले बताउनुभयो । भोलिपर्सी सम्मा प्रदेशसभामा सनाखत गराउने बेलासम्म संख्या केहि थपघट हुने उहाँको भनाइ छ ।
अहिले पार्टीमा गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव,मदन जैन श्रीवास्तव, सत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रविन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुंग रहेको सांसद महतोले दाबि गर्नुभयो ।
सनाखत लगतै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा निणर्य गर्ने महतोले बताए। यसअघि जसपा नेतृत्वको प्रदेश २ सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहभागि भइसकेको छ ।
प्रदेश २ मा हाल ११ वटा मन्त्रालय कायम छन् । तीमध्ये जसपाका ४, काँग्रेसका ३ र माओवादीका एक मन्त्री छन् भने बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफूसँगै राखेका छन् ।