
जनकपुरधाम- धनुषामा दाइजोका कारण श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास गर्ने श्रीमान पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका ३० वर्षीय राजीव झालाई शनिबार धनुषा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश गौतमले जानकारी दिए ।
वैशाख १ गते दिउँसै मदिरा सेवन गरेर झाले ९ वर्षीय छोरा शिवम्लाई कुटपिट गरेका थिए । श्रीमती श्वेता झाले छोरालाई कुटपिट गरेपछि बचाउने प्रयास गरिन् । सोही क्रममा झाले आमा र भाइको सहयोगमा श्वेताको शरीरमा आगो लगाइदिएका थिए ।
प्रहरीका अनुसार शुक्रबार स्वेताको माइतीपक्षले श्रीमान्सहित देवर, सासू र ससुराविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि प्रहरीले पीडितका श्रीमान राजीवलाई पक्राउ गरेको छ । श्वेताको हाल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । विवाहको १० वर्ष बितिसक्दा पनि राजिवले तीन तोला
सुन अहिलेसम्म नल्याएको भन्दै विगतदेखि नै यातना दिँदै आएको श्वेताको आरोप छ।