महोत्तरी - मध्यमवर्गीय किसान परिवारको सन्तान भएर पनि समाज परिवर्तनको लक्ष्य लिएर अघि बढ्ने युवाको आत्मसंकल्पले सामाजिक चेतना जगाउने सन्देश दिएको छ। महोत्तरी जिल्लाको औरही नगरपालिका–२ निवासी सरोज कुमार यादवले आफ्नो राजनीतिक यात्राको मूल्यांकन गर्दै अब समाज परिवर्तनका लागि जनचेतनाको आवश्यकता औंल्याएका छन्।
सरोज यादवका अनुसार उनका बुबा सरकारी विद्यालयका प्राथमिक तहका शिक्षक रहे पनि बाल्यकाल गाउँको ग्रामीण परिवेशमा तुलनात्मक रूपमा सहज र अभावरहित बित्यो। अध्ययनमा सधैं अग्रस्थानमा रहेका उनले उच्च शिक्षाका क्रममा विज्ञान र इन्जिनियरिङ अध्ययन गर्ने अवसर प्राप्त गरे। विद्यार्थी जीवनमै सामाजिक र राजनीतिक परिवर्तनको आन्दोलनमा होमिएका यादव गणतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय रहे। त्यस क्रममा उनी निर्वाचित विद्यार्थी नेता (स्ववियु सचिव) हुँदै अखिल (अनेरास्ववियु) केन्द्रीय सचिवसम्मको जिम्मेवारीमा पुगे।
उनले पछिल्लो समय एमालेबाट नगरप्रमुखका उम्मेदवारका रूपमा चुनाव लडे पनि पराजय भोग्नुपर्यो। त्यस अनुभवपछि यादवले समाज र जनचेतना परिवर्तनबिना शासन व्यवस्था जनमुखी हुन नसक्ने धारणा सार्वजनिक गरेका छन्। उनका अनुसार, “जनताले नै यदि मासुभात, पैसामा बिक्ने, जात धर्म हेरेर प्रतिनिधि छान्ने प्रवृत्तिबाट मुक्त हुन सकेन भने देशको अवस्था कहिल्यै बदलिँदैन।”
राजनीतिलाई सेवा होइन, व्यक्तिगत लाभको साधन बनाइँदा व्यवस्था माथि जनविश्वास कमजोर भएको उनले उल्लेख गरे। यादव भन्छन्,“यदि जनताले आफैंमा परिवर्तन गर्न नसके,म आफैंलाई बदल्छु-राजनिति र समाजसेवाको जुन भूत ममा सवार छ, त्यसबाट मुक्त हुन्छु।”
४० वर्ष कटिसक्दा पनि अविवाहित र स्वतन्त्र जीवन बाँचिरहेका यादवले व्यक्तिगत रूपमा आफू सन्तुष्ट रहेको जनाउँदै भने, “म तयार छु-जनताको साथ र सहयोग भए अप्ठ्यारा पहाड पनि उक्लिन सक्छु।”
उनको भनाइमा, भ्रष्टाचार,बेथिति र असमानताबाट मुक्त समाज बनाउन नागरिकले नै दासता र गुलामिबाट मुक्त हुने संकल्प गर्न आवश्यक छ। समाज सुधारको जिम्मेवारी केवल नेतामा होइन,जनतामा पनि निहित छ भन्ने सन्देश उनले दिएको देखिन्छ।




