जनकपुरधाम- सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरु हुँदैछ ।हालसम्म क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका ५६ जिल्लाका वडामा आजदेखि अधिवेशन शुरु हुने भएको हो ।
नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको बताइएको छ । ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री समेत पठाइ सकिएको छ । क्रियाशील सदस्यता सूचि भएका सबै जिल्लाको वडा अधिवेशन सम्भव भएसम्म शुक्रबार नै सक्ने कांग्रेसको योजना छ ।
करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ । आगामी मंसिर ९ गतेदेखि १३ गते सम्मका लागि कांग्रेसले १४ औं महाधिवेशनको मिति तोकेको छ ।
यसैबीच कोरोना महामारीको जोखिमकाबीच नेपाली कांग्रेसको १४ औँ महाधिवेशन गर्न लागिएको भन्दै रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कांग्रेसबाट वाग्मती प्रदेशका प्रदेशसभा सांसद नरोत्तम वैद्यले अधिवक्ता भूपेन्द्रप्रसाद पोखरेल मार्फत बिहीबार रिट दायर गर्नु भएको हो ।