
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर अध्यक्षलाई संवोधन गर्दै पार्टीबाट राजीनामा दिएका हुन्।
गौतमका स्वकीय सचिव दिपक टमाटाका अनुसार गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर गौतम फर्किएको टमाटाले जानकारी दिए।
२०५४ सालमा नेकपा एमाले विभाजन गरी नेकपा माले पार्टी खोलेका गौतमले २४ वर्षपछि पुनः एमाले छोडेका छन्। गौतम नेकपा विभाजनपछि कुने पक्षमा नलागेर एकता अभियान चलाइरहेका थिए।
एमाले ब्युँतिएपछि केही बैठकहरूमा सहभागी भएका गौतमले पछिल्लो समय माधव कुमार नेपालले एमाले विभाजन गरी खोलेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा लाग्ने घोषणा गरेका थिए। तर एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) छाडेकोले सो पार्टीमा पनि नजाने आशय ब्यक्त गरेका थिए।
पछिल्लोपटक जबज स्वीकार गरे आफू समाजवादीमा जाने सर्त राखेको आज मात्रै विज्ञप्ति मार्फत जनाएका थिए। गाैतम राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा प्रतिनिधिसभा सदस्य छन्।