महोत्तरी । ‘बेटी पढाओ, बेटी बचाओ’ प्रदेश दुई सरकारले अघि सारेको यो लोभलाग्दो नाराले कति हदसम्म सार्थकता पायो, त्यसकाे प्रभावकारिता देखिने छ नै । महिलामाथि हुने हिंसामा बदनाम बनेको प्रदेश २ मा अघि सारिएको यो र्कायक्रमले छोरीहरु र उनीहरुको शिक्षाको हकमा न्यायोचित भूमिका खेलेको अनुभव धेरैले गरेका छन् ।
तर छोरीहरुमाथि हुने बिभिन्न खाले हिंसाले भने अझै पनि उस्तै रुप र कहाली बोक्दै आएको छ । छोरीचेलीको सुरक्षाको नाममा जति नै बजेट खर्च गरेपनि र सचेतनाका लागि जतिसकुै कार्यक्रमहरु गर्दै आए पनि छोरीचेलीहरु झनै दिनप्रतिदिन असुरक्षित बन्दै आएका छन् । महिला हिंसाको सवालमा बदनाम बन्दै आएको महोत्तरीमा घटेको पछिल्लो एक घटनाले पनि छोरीचेलीको सुरक्षालाई लिएर प्रश्न उठेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रभित्र एक १३ वर्षीया बालिका आफ्नी आमाले काम गर्दै आएको घरको मालिकको छोराद्वारा विगत आठ महिनादेखि बलात्कृत हुँदै आएको घटना सार्वजनिक भएको छ । बालिकाको पेटमा सात महिनाको गर्भ समेत बसेको स्वास्थ्य जाँचबाट पुष्टि भएपछि यो घटना सतहमा आएको हो । तर बालिका र उनका आफन्तले प्रहरीमा उजुरी दिए पनि ती आरोपीलाई पक्राउ गर्ने कुनै तदारुकता प्रहरीले देखाएको छैन ।
धाकधम्की दिएर आठ महिनादेखि यौन-शोषण
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं.९ परिकौलीगाउँमा गरिबीका कारण अरुको घरमा कामकाज गर्दै आएकी एक महिला कामदारकी १३ वर्षीया छोरी मालिकका २३ वर्षीय छोराबाट विगत आठ महिनादेखि बलात्कृत हुँदै आएको रहस्य बाहिर आएको छ ।
युद्धनाथ झा र ममता झाका २३ वर्षीय छोरा आकाश झाले परिवर्तित नाम (आशाकुमारी ) लाई विभिन्न धाकधम्की दिएर विगत आठ महिनादेखि यौन शोषण गर्दै आएको पीडित बालिकाले बताएकी छिन् ।
आमालाई सघाउन जानु बालिकाको दुर्भाग्य
घरेलु कामदारकोरुपमा कामकाज गर्दै आएकी आमालाई सघाउन भनि छोरी (आशाकुमारी ) पनि मालिकको घरमा आउजाऊ गर्न थालेपछि मालिकका छोरा आकाशले उनीमाथि गिद्धे नजर राख्न थाले ।
गरिबीको फाइदा उठाउँदै विभिन्न धाकधम्की दिएर विगत आठ महिनादेखि यौनशोषण गर्दै आए । बालिकाको पेट दुखेर चेकजाँचका लागि जनकपुर स्थित सिटी अस्पतालमा मालिककै सहयोगमा पुगेकी बालिकाको पेटमा सात महिनाको गर्भ रहेको पुष्टि भएपछि यो घटना सतहमा आएको हो ।
सात महिनाको गर्भ यसरी तुहाइयो
बालिकाको पेटमा गर्भ रहेको खुलेपछि घटना बाहिरिने डरले बलात्कारी केटाको पक्षले जनकपुरको केयर मेडिकलमा ती बालिकाको गर्भ तुहाएका थिए । गर्भ तुहाएपछि घाउँ ठीक नभएसम्म भारतको अछरवा भन्ने ठाउँमा केही समय राखेर छोरीलाई घर ल्याएको पीडितकी आमाको आरोप छ ।
प्रहरीमा दिएको उजुरी पनि काम लागेन
बालिका (आशाकुमारी ) अहिले पनि पूर्णरुपमा निको भइसकेकी छैनन् । अझै पनि पटक पटक पेटमा समस्या देखिने गरेकोले उनलाई अस्पताल लगिरहनु पर्छ । पीडित बालिकाकी आमा र बालिकाले घटनाबारे जलेश्वर स्थित ओरेक नेपाल र जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिईसक्दा पनि कतैबाट अहिलेसम्म कुनै न्याय र सहयोग नपाएको गुनासो गरेका छन् ।
पैसा र पहुँचका अघि गरीब परिवार असहाय
यता पीडक आकाश र उनकी आमा ममताले पैसा र पहुँचको आधारमा घटना सामसुम पार्न खोजेको आरोप पनि पीडित पक्षको छ । आफूहरुलाई ज्यानमार्ने धम्कीसहित पैसाको प्रलोभन दिएर घटना बाहिर नल्याउन समेत प्रयासरत रहेको पीडित पक्षको गुनासो छ । आफु गरिब भएकै कारण छोरीमाथि अन्याय भएको भन्दै १ महिना पहिला नै विभिन्न निकायमा उजुरी दिएपनि अहिलेसम्म कुनै निकायले न्याय दिलाउन चासो नदिएको पीडित पक्षको भनाइ छ ।
यता जिल्लाप्रहरी कार्यालयका प्रमुखएवं प्रहरी उपरीक्षक दिनेश आचार्यले आफूहरु घटनाबारे सत्यतथ्य बुझ्ने तथा आवश्यक अनुसन्धानमा लागिरहेको दावी गरेको छ । तर यति लामो समय वितिसक्दा पनि कार्यालयको पहुँच नजिक रहेका आरोपी पक्राउ गर्न नसक्नुलाई जलेश्वरवासीले अचम्म मानेर हेरेका छन् ।रासस