
काठमाडौँ - नेपाली कांग्रेसकी सांसद नागिना यादवले संसदमा बजेट अधिवेशन चलिरहेको बेला संसदीय समितिहरूमा विधेयकमाथिको छलफल रोक्न आग्रह गरेकी छन् ।
मंगलबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सांसदहरू बजेटजस्तो महत्त्वपूर्ण विषयमा केन्द्रित हुनुपर्ने भएकाले विधेयकमा पर्याप्त समय दिन नसकिने बताइन् । समितिमा ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि संशोधनकर्ताहरूसँग छलफल चलिरहँदा सांसद यादवले यस्तो धारणा राखेकी हुन् ।
उनले संसद्को पूर्ण बैठक र समिति बैठक एकै समयमा पर्दा सांसदहरू दुवैतर्फ सहभागी हुन नसक्ने र विधेयकमाथिको छलफल केवल औपचारिकतामा सीमित हुने खतरा औँल्याइन् । ‘समयको व्यस्तता र पाबन्दीलाई हेरौँ,’ समितिको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘बरु बिदाको दिन बैठक बोलाउनुहोस्, हामी उपस्थित हुन्छौँ । तर बजेट अधिवेशनको बेला बोलाउँदा संशोधनकर्ता माननीयज्यूहरू पनि आउन सक्नुहुन्न र हामीले पनि विधेयकलाई जति महत्त्व दिनुपर्ने हो, त्यो दिन सक्दैनौँ ।’
सांसद यादवले यसरी हतारमा छलफल गर्दा विधेयकका प्रावधानहरूलाई परिपक्व र जनमुखी बनाउन नसकिने स्पष्ट पारिन् । उनका अनुसार, महत्त्वपूर्ण कानून निर्माण प्रक्रियामा पर्याप्त समय र गम्भीरता नअपनाउँदा त्यसले दीर्घकालीन असर पार्ने भएकाले समितिले यस विषयमा गम्भीर बन्नुपर्छ ।