जनकपुरधाम- प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ ।
आयोगको अध्यक्षमा रौतहटका राम सहाय राय यादवलाई नियुक्त गरिएको छ भने आयोगका सदस्यहरूमा धनुषाको जनकपुरधाम निवासी तत्कालीन जिल्ला प्राविधिक कार्यालयका पूर्व प्रमुख वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोत्तरी गोनरपुरकी शोभा कुमारी महतोलाई चयन भएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले आज मंगलबार नव नियुक्त जनलोकपाल आयोगका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
तीनै जनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र प्रदान गरेका छन् र नवनियुक्त पदाधिकारीहरूले आजै पदभार ग्रहण गरेका छन् ।
प्रदेश २ सरकारले आर्थिक अनियमितताको अनुसन्धान गरेर कारबाही गराउने उद्देश्यले यस आयोग गठन गरेको जनाएको छ। आयोगलाई प्रदेशका आर्थिक अनियमितता तथा कमी कमजोरीको छानबिन गर्ने र कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको छ ।
आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ ।