महोत्तरी – महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित मदरसा सैईदा फातिमाबाट तीन जना बालिका सम्पर्कविहीन भएको समाचार सार्वजनिक भएपछि युवा गैरसरकारी संस्था महासंघ नेपाल, महोत्तरीका जिल्ला संयोजक आकाश कुमार साहले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्।
सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार ती तीन बालिका गत भदौ २५ गतेदेखि सम्पर्कविहीन रहेको र हालसम्म परिवारको सम्पर्कमा आउन नसकेको जनाइएको छ। पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा खोजतलासका लागि निवेदनसमेत दिएको बताइएको छ। घटनाका सम्बन्धमा मदरसाका मौलवीमाथि परिवारजनले शंका व्यक्त गरेको भए पनि यसको सत्यतथ्य अनुसन्धानबाटै स्पष्ट हुनुपर्ने साहले बताएका छन्।



साहले यस घटनालाई अझ संवेदनशील बनाउने अर्को पक्षका रूपमा यसअघि नै सोही मदरसाको सञ्चालनसम्बन्धी विषयमा ध्यानाकर्षण गराइएको तथ्यसमेत उठाएका छन्। उनका अनुसार २०८२/०८/२२ गते हिन्दू सम्राट सेनाद्वारा जिल्ला प्रशासन कार्यालय, महोत्तरीसमक्ष मदरसाको सञ्चालन तथा कानुनी अवस्थाबारे ध्यानाकर्षण गराइएको थियो। त्यसपछि सम्बन्धित निकायबाट अनुगमन भएको भनिए पनि अनुगमनपछि मदरसा कुन प्रक्रिया, निर्णय वा कानुनी आधारमा पुनः सञ्चालनमा आयो भन्ने विषयमा स्पष्टता आवश्यक रहेको साहको भनाइ छ।
साहले भनेका छन्, “तीनै जना बालिका हाम्रा चेलीबेटी तथा नेपाली बालबालिका हुन्। उनीहरू कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने चिन्ता परिवारको मात्र नभई सम्पूर्ण समाजको विषय हो। सम्बन्धित निकायले अबिलम्ब खोजतलास गरी छिटोभन्दा छिटो सुरक्षित अवस्थामा फेला पार्नुपर्छ।”
नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ मा बालबालिकाको हक, संरक्षण तथा सर्वोत्तम हितलाई प्राथमिकता दिइएको उल्लेख गर्दै साहले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जलेश्वर नगरपालिका तथा सम्बन्धित बाल संरक्षण निकायहरूको ध्यानाकर्षण गराएका छन्।
उनले तीन बालिकाको तत्काल खोजतलास तथा सुरक्षित उद्धारसँगै घटनाको निष्पक्ष र तथ्यपरक अनुसन्धान गर्न र यसअघि भएको अनुगमन, त्यसका निर्देशन तथा त्यसपछि मदरसा सञ्चालन भएको सम्पूर्ण प्रक्रिया र कानुनी आधारसमेत छानबिन गर्न माग गरेका छन्। अनुसन्धानबाट कसुर पुष्टि भएमा प्रमाणका आधारमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्ने उनको भनाइ छ।
यसअघि पूर्व जलेश्वर नगर बाल सञ्जालका अध्यक्षसमेत रहेका र वर्तमानमा युवा गैर सरकारी संस्था महासंघ नेपाल, महोत्तरीका जिल्ला संयोजक रहेका आकाश कुमार साहले बालबालिका तथा सार्वजनिक सरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।
साहको मुख्य माग तीनै बालिकाको तत्काल खोजतलास गरी उनीहरूलाई सुरक्षित रूपमा परिवारमा फर्काउने र घटनाको सत्यतथ्य सार्वजनिक गर्ने रहेको छ।




