धनुषा- सप्ताहव्यापी रुपमा जनकपुरधाममा सुरु भएको विवाहपञ्चमी महोत्सव अन्तर्गत आज चौथो दिन तिलकोत्सव विधि धुमधामका साथ सम्पन्न भएकोछ ।
त्रेता युगमा भगवान श्रीराम र सीताको विवाह भएको स्मृतिमा जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज सोमबार तिलकोत्सव विधि सम्पन्न गरिएको राम मन्दिरका महन्थ राम गिरीले बताउनुभयो ।
राममन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट भार (कोसेली) लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुग्नु भएको थियो ।
त्रेता युगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् श्री रामका बुवा राजा दशरथ बीच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइने गरीन्छ।
तिलकोत्सवमा दुलही पक्षका प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटे महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरि सम्धी मिलन गर्नुभएको थियो ।
छोटे महन्थ रामरोशन दासले अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरि तिल्कोत्सव मनाइएको हो ।
सो अवसरमा जनकपुरधामको नगर परिक्रमा गर्दै साधुसन्तहरुको टोली बाजा गाजा सहित सहित १ सय भार(कोसेली) लिएर राम मन्दिरमा पुग्दा राम मन्दिरका महन्थ राम गिरी, गुठी संस्थान जनकपुरधामका कार्यालय प्रमुख, महावीर युवा कमिटी, श्रीराम युवा कमिटीका पदाधिकारी तथा स्थानीयले स्वागत गरेका थिए ।
यता बेहुली पक्षबाट जानकी मन्दिरका महन्थ सहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितका प्रशासनिक निकायका पदाधिकारी, राजनीतिक दलका व्यक्तिहरू सहभागी हुनुभएको थियो ।
कार्यक्रममा महिलाहरूले मिथिलाञ्चलमा वैवाहिक कार्यक्रमको अवसरमा गाइँने मैथिली गीतका साथै विभिन्न प्रकारको हास परिहासहरूका साँस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।
अब विवाहपञ्चमी अन्तर्गत भोली पाँचौं दिन मंगलबार जानकीको मटकोर विधि हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने छैठौ दिन बुधबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ र सातौ अर्थात अन्तिम दिन बिहिबार रामकलेवा विधि सम्पन्न भएसंगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ । यस अघि नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ ।