
ढल्केवर- धनुषाको उत्तरी भेगमा पर्ने मिथिला नगरपालिकास्थित ढल्केवर स्वास्थ्य चौकीले १० वर्षअघि भारतीय दूतावासबाट पाएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्किँदा स्थानीय बिरामीहरु मर्कामा परेका छन् ।
एम्बुलेन्स चार वर्षदेखि मर्मत सम्भार नहुँदा विरामीलाई २५ किलोमिटरको बाटो सदरमुकाम जनकपुरधाम लैजानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
२०६४ माघमा नेपालस्थित भारतीय दूतावासले ढल्केवर स्वास्थ्य चौकीलाई निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराएको थियो । उक्त एम्बुलेन्सले ढल्केवर र वरपरका क्षेत्रका बासिन्दालाई अस्पताल लैजान सहज मानिन्थ्यो । तर एम्बुलेन्स अचानक बिग्रिएपछि चार वर्षदेखि त्यसै थन्किएको छ ।
व्यवस्थापन समितिका तत्कालीन उपाध्यक्ष रामदुलार महतोका अनुसार एम्बुलेन्सले गर्दा ४५ हजार भन्दा धेरै गाउँलेका लागि हस्पताल जान सहज साधन थियो । तर पछिल्लो समय इमर्जेन्सीका बिरामीलाई सदरमुकामसम्म लैजान एम्बुलेन्स उपलब्ध नहुँदा निकै सास्ती व्यहोर्नु परेको मिथिला नगरपालिका–७ ढल्केवरका ६० वर्षीय लक्ष्मण बराइली बताउँछन् ।
ढल्केवर स्वास्थ्य चौकीका इन्चार्ज रामप्रबोध साहले भने आफू स्वास्थ्यचौकीमा आउनुभन्दा अघि नै ज.१.झ ३९० नम्बरको एक मात्र सरकारी एम्बुलेन्स बिग्रिएर थन्किएको अवस्थामा थियो ।
कर्मचारीहरुका अनुसार उक्त एम्बुलेन्स २०७४ चैत्रबाट बन्द अवस्थामै छ । ‘एम्बुलेन्स विना हामीलाई धेरै समस्या भइरहेको छ । यस स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत सञ्चालनमा छ । त्यसका लागि पनि एम्बुलेन्स अतिआवश्यक छ । कहिलेकाँही जटिल अवस्थाका केस पनि आइरहेका हुन्छन् । त्यस्तो अवस्थामा एम्बुलेन्स स्ट्याण्डबाई राख्नुपर्ने हुन्छ’ इन्चार्ज साह भन्छन् ।
तर नयाँ एम्बुलेन्स ल्याउन माथिल्लो निकायले नै चासो नदिएको इन्चार्ज साहको भनाइ छ । स्थानीयस्तरबाट दिनहुँ अस्पतालमा एम्बुलेन्सका लागि फोन आउने गरेको इन्चार्ज साह सुनाउँछन् । एम्बुलेन्सका लागि पालिकामा पटक–पटक ताकेता गरे पनि अश्वासन बाहेक केही नपाएको उनको गुनासो छ ।
ढल्केवरमा रहेको एक मात्र सरकारी एम्बुलेन्सले पूर्वमा सिरहाको बन्दीपुरदेखि पश्चिममा महोत्तरीको रामगोपालपुरसम्मका विरामीलाई सेवा दिने गरेको स्वास्थ्य चौकीका एम्बुलेन्स चालक दिपेन्द्र महतोको भनाइ छ । सुरुदेखि नै आफैँले चलाएको एम्बुलेन्स जनप्रतिनीधि आएपछि थन्काउने बहानामा आफूलाई त्यहाँबाट निकालिएको उनी बताउँछन् ।
‘सुरुमा हामी ढल्केवरबाट जनकपुर ८ सय रुपैयाँमा पुर्याउँथ्यौँ । त्यतिबेली निजी एम्बुलेन्सहरु १५ सयदेखि २ हजार रुपैयाँ लिन्थे । भाडा समेत तिर्न नसक्ने असहायहरुलाई हामीले निशुल्कै सेवा पनि दियौँ,’ तत्कालीन चालक महतो भन्छन् ‘चुनावपछि जनप्रतिनीधि आए । भएको एम्बुलेन्स पनि थन्काइदिए । अहिले त्यस्ता असहायहरु निशुल्क एम्बुलेन्स सेवा पाउनबाट वञ्चित भएका छन् ।’
अहिले पनि एकदेखि डेढलाखसम्म खर्च गरे त्यही एम्बुलेन्स आरामले चलाउन सकिने उनको दावी छ । नगरपालिकाभर एकमात्र रहेको सरकारी एम्बुलेन्स थन्किएपछि सर्वसाधारण मार्कामा परेका छन् । सरकारी एम्बुलेन्सबाट सर्बसुलभ दरमा सेवा पाउनबाट स्थानीयहरु वञ्चित भएका छन् ।
राष्ट्रिय जनगनणा २०६८ अनुसार मिथिला नगरपालिकाको कुल जनसंख्या ४५ हजार १६४ छ । नगरपालिकामा ११ वटा वडा छन् । तर स्वास्थ्य क्षेत्रमा नगरपालिकाबाट अपेक्षा गरिएको सहयोग नपाएको नगरका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
‘निजी एम्बुलेन्सहरु त अहिले धेरै छ । तर उनीहरु आफूखुसी चलाउँछन् । खोजेको बेला अधिकांश बाहिर नै हुन्छ । सरकारी हुँदा सजिलो हुन्थ्यो । यसअघि भाडा तिर्न नसक्नेले निशुल्क रुपमै पनि सेवा पाइरहेका थिए,’ उनी भन्छन् ‘तर अहिले त्यो अवस्था रहेन । त्यसतर्फ स्थानीय सरकारको पनि ध्यान गएको देखिँदैन ।’
यसअघि कोरोना संक्रमणको पहिलो लहरमा त्यस भेगका सर्वसाधारणहरुले सरकारी एम्बुलेन्सको अभावमा सास्ती खेपेका थिए । निजी एम्बुलेन्सका चालकहरुले भने संक्रमणकालमा विरामी बोक्न मानेनन्।
यता जनप्रतिनिधिको हेलचक्र्याइँले सरकारी एम्बुलेन्स थन्किएको ढल्केवर स्वास्थ्य चौकी एम्बुलेन्स व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राजकुमार महतोकोआरोप छ । चल्ने अवस्थामै रहेको एम्बुलेन्स जनप्रतिनिधी आएपछि सामान्य मर्मत गर्न समेत नचाहेको उनको भनाइ छ । आफुले नयाँ एम्बुलेन्स खरिद गर्न पनि पालिकालाई पटक पटक आग्रह गरे पनि नगरप्रमुखले खासै चासो नलिएको उनको गुनासो छ ।
नेपाली काँग्रेसका धनुषा निर्वाचन क्षेत्र नं ४ का क्षेत्रीय उपसभापति समेत रहेका महतोले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रप्रति जनप्रतिनिधि गम्भीर नभएको आरोप लगाए ।
‘गाडी हुँदाहुँदै मेयरले आफु चढ्न चिल्लो गाडी किनेको छ,’ उनी भन्छन् ‘तर नगरका जनता विरामी पर्दा समेत अस्पताल जान एम्बुलेन्स छैन । भएको एउटा सरकारी एम्बुलेन्स पनि मर्मतको अभावमा थन्काइयो । अहिले नयाँ ल्याउन पनि आलटाल गरिरहेको छ । हामी कयौंपटक डेलिगेसन गयौं तर केही भएन ।’
यस विषयमा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले स्वास्थ्य चौकीको एम्बुलेन्स मर्मत गराउने अवस्थामा समेत नरहेकोले नयाँ एम्बुलेन्सका लागि प्रक्रिया अघि बढाएको प्रतिक्रिया दिएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका तत्कालीन प्रहरी निरीक्षक तीर्थ कुमार कार्कीका अनुसार एम्बुलेन्स अभावमा हजारौँको संख्यामा स्थानीयहरुले समयमै उपचार नपाउने पीडा खेप्नुपरेको छ ।
त्यसो त ढल्केवर क्षेत्रमा मात्रै विभिन्न संस्थाका एम्बुलेन्स छन् । तर स्थानीयको उपचारार्थ स्थापित स्वास्थ्यचौकीले चलाउने गरेको एम्बुलेन्स नै थन्किँदा स्थानीयहरु प्रभावित बनेका छन् ।