
जनकपुरधाम- तराई मधेसका जिल्लाहरुमा अत्याधिक मात्रामा प्रयोग हुने सुर्तीजन्य बस्तुको आयातमा सरकारी राजस्व ठगि हुने गरेको छ ।
भारतमा उत्पादित सुर्तीजन्य बस्तुको आयातमा पसलेले भन्सार छलेर ल्याउने क्रम बढदै गएपछि सरकारी राजस्व ठगिँदै आएको हो । प्रदेश २ का धनुषा, महोत्तरी सहितका प्रायजसो जिल्लाका स्थानीय बजारहरुमा विभिन्न स्थानमा रहेका पान पसलले दैनिक लाखौं रुपैँयाको कारोबार गर्ने भारतीय गुटखाको नेपाल सरकारले राजश्व पाँउने गरेको छैन् ।
यसरी राजश्व छल्दै बजारमा विभिन्न ब्राण्डका अवैध गुट्खा, पानमसानाल तथा सुर्तिजन्य पदार्थ खुलेआम रुपमा विक्रिवितरण हुँदै आएपनि प्रशासन मौन देखिएको छ।

प्रदेश २ का जिल्लाको सबै सीमानाकाको भन्सार कार्यालयकै अगाडिबाट भारतमा उत्पादन भएका सुर्तिजन्य पदार्थ नेपाल भित्र्याउदा भन्सार कार्यालय बाहिर रहेका कर्मचारीले थोरै रकम लिएर भन्सार नकाटी पठाईदिँदा बिना भन्सारका भारतीय बस्तुहरु देशका बिभिन्न स्थानमा पुग्ने गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउने राजनिवास, पराग, रजनीगन्धा, पान पराग, डबल मज्जा, पुकार लगायतका भन्सार छलेर ल्याइएका समान प्रदेश २ का जिल्लाका सबै बजारहरुमा रहेका पान पसलमा खुल्लम खुल्ला विक्रि हुने गरेको छ । भारतीय अवैध गुट्खा तथ पानमसालाहरु भित्रिदा नेपालमा राजस्व तिरेर सञ्चालन गरिरहेका सूर्तिजन्य उद्योगलाई प्रत्यक्ष असर परिरहेको छ।

आन्तरिक राजस्व विभागलाई सूर्ती, खैनी, गुट्खा, पान मसलामा स्टीकर टाँस भए नभएको र स्वास्थ्य सम्बन्धी चेतावनीमूलक सन्देश र चित्र अंकित भए नभएको हेर्ने, नियमानुसार नभएको देखिए जफत गर्ने अधिकार भएपनि कहिल्यै अनुगमन हुने गरेको छैन । तराईका जिल्लामा अत्यधिक मात्रामा कारोबार हुने गुटखा क्यारियरले ( भन्सार सम्वन्धि माल ढुवानी गर्ने संगठित समूहलाई क्यारियर भन्ने गरिन्छ ) भन्सार नाका कटाउँदै पसल पसलमा पुर्याउने गरेको व्यापारीहरु बताउँछन् ।
महोत्तरीका प्रमुख व्यापारीक बजारहरु जलेश्वर, रामगोपालपुर, औरही, गौशला, वर्दिवास, सम्सी लगायतका बजारमा रहेका पान पसलमा झुण्याएर राखिने भारतमा उत्पादन भएको स्वास्थ्यमा असर पुर्याउने भन्सार छलेर ल्याईएका गुटखा पाईन्छ ।
भारतीय तथा नेपाली व्यापारी मार्फत प्रदेश २ का जिल्लाहरुसंग सिमा जोडिएका विभिन्न खुल्ला नाका हुदै विना भन्सार सहजै नेपाल भित्रिने गुटखाको मात्र भन्सारले राजश्व असुल्न सक्ने हो भने दैनिक हजारौं रुपैँया सरकारको राजश्व उठ्ने गौशलाका एक व्यापारी नागेन्द्र साह बताउछन् ।

२ रुपैयादेखि ६० रुपैयासम्म खुद्रा मुल्य पर्ने गुटखा, राजनिवास, रजनीगन्धा ,पान पराग, पराग ,डवलमजा जस्ता सामान जलेश्वरको भिट्ठामोड स्थित मुख्य भन्सारकै अगाडिबाट ल्याउदा कर्मचारीको हातमा १० देखी २० रुपैया हालिदिएपछी भन्सार काटनु नपर्ने र सहजै नेपाल भित्र्याउन सकिने गुटखाको कारोबारमा सम्वद्ध एक ब्यापारीले बताए ।
उनका अनुसार, प्रदेश २ का जिल्लाहरुको विभिन्न नाका हुदै नेपाल भित्रिने भन्सार छलेका भारतीय सुर्तिजन्य पदार्थ प्रायजसो जिल्लाका मुख्यशहर र सदरमुकाममा स्टोक गरि देशका विभिन्न स्थानमा समेत पुर्याउने गरिएको छ ।
भन्सार कार्यालय भिट्ठामोडका एक कर्मचारीका अनुसार, सुर्तिजन्य पदार्थ तथा गुटखाको भन्सार काटिने गरेको छैन् । सुर्ति जन्य पदार्थको कारोवारका लागी आन्तरीक राजश्व कार्यालयवाट लाईसेन्स लिएर कारोवार गर्नु पर्ने प्रावधान रहेपनि चालु आर्थिक वर्षमा गुटखा लागायत सुर्ति जन्य पदार्थको एक पैसा राजश्व नउठेको भिट्ठामोड भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयमा एक पैसाको राजश्व नकाटिएपनि भन्सार कार्यालय अगाडि नै रहेका दर्जनौ घुम्ति र फुटपाथे पान पसलमा हजारौ रुपैयाको गुटखा झुन्ड्याएर बेच्न राखिएको हुन्छ । एक्कीन तथ्याङ्क कसै संग नभएपनि भन्सार छलेर ल्याईएको भारतीय गुटखा यस प्रदेशका मुख्य प्रत्येक बजारमा दैनिक डेडदेखी दुई लाख सम्म खपत हुने गरेको सम्बन्धीत व्यावसायीहरुको भनाई छ ।
पान पसलमा झुण्ड्याएर राखिने कम पैसा पर्ने तर दैनिक ठुलो परिमाणमा विक्रि वितरण हुने सुर्तिजन्य पदार्थको आयतमा कडाई गर्ने हो भने सरकारको हजारौंको दैनिक राजश्व उठ्ने धनुषाको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेश प्रसाद यादव बताउछन् ।
भारतीय गुटखा तथा सुर्तिको ओसारपसारमा प्रत्येक जिल्लाहरुमा एक गिरोह नै सक्रिय रहेको पान व्यापारीहरुको भनाई छ । महोत्तरीको जलेश्वर, गौशला, मठिहानी संग सिमा जोडिएका भारतीय बजारबाट ६० किलोमिटर उत्तरका बजारमा समेत भारतीय व्यापारीले साईकलमा भन्सार छलेका सुर्तिजन्य पदार्थ पुर्याउने गरेका छन् ।
महोत्तरीमा मात्रै हैन, प्रदेश २ का प्राय सबै जिल्लामा भन्सार कर्मचारी र सुरक्षाकर्मीकै मिलोमतोमा भन्सार छलेर सुर्तीजन्य पदार्थदेखि दैनिक उपभोग्य बस्तुको समेत तस्करी बढेको छ । सरकारले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि भन्सार शुल्क लिन कर्मचारी र सुरक्षाकर्मीको व्यवस्था गरेको छ । तर, दिनदहाडै भन्सार नतिरी करौडौंमूल्यका सुर्तीजन्य पदार्थ र पान मसाला तस्करी गर्ने क्रम बढिरहेको छ ।
चोरी पैठारी गरि ल्याईएका राजनिवास, पानपराग, रजनीगन्धा, गुटखा, तुलसी लगायतका पानमसाला बजारमा खुलेयाम बिक्री हुन्छ । खुला सीमाको फाइदा उठाउँदै प्रहरी र कर्मचारीकै मिलेमतोमा विभिन्न नाकाबाट यस्ता सामान तस्करी हुँदै आएको स्थानीय बासिन्दाको आरोप छ ।
सीमा नाकामा खटिएका भन्सारका कर्मचारी र प्रहरी नै तस्करको हितैषी भएपछि चोरी र तस्करीका सामान बजारमा छ्यापछ्याप्ती पाइन्छ ।
अर्को तर्फ कानुन मिच्दै अवैध गुटखाको व्यापार निकै फस्टाएको छ । सूर्तिजन्य पदार्थमा अनिवार्य गरिएको आन्तरिक राजश्व विभागको स्टीकर नभएका अवैध गुटखा व्यवसायीले बिक्री गरिरहँदा पनि प्रशासन मौन बनेको छ ।
मदिराजन्य वा सूर्तिजन्य पदार्थमा नेपाल सरकारले नियमावली नै बनाएर राजश्व कर तोकेको छ । जसअनुसार गुटखाका प्रत्येक प्याकेटमा आन्तरिक राजश्व विभागको छाप भएको होलोग्राम स्टीकर अनिवार्य हुन्छ । तर, यस क्षेत्रका गुटखा व्यवसायीले कानूनी नियम लत्याउँदै राजश्व छलि गरेका पान किंग, राजनिवास, रजनीगन्धा लगायतका विभिन्न किसिमको गुटखा बिक्री वितरण गरिरहेका छन् ।
राजश्वको स्टीकर नभएका गुटखामा कुनै कर नलाग्ने र सस्तो पर्ने भएकाले त्यस्ता कर छली गरेका गुटखा मगाउँदै व्यावसायीले नै खुद्रा पसलेहरुलाई बेच्ने गरेका छन् । आन्तरिक राजश्व कार्यालय वा प्रशासनले यदि छापा हान्ने हो भने करोडौं मूल्यको अवैध गुटखा बरामद हुने स्रोत बताउँछ ।
यसरी दैनिक लाखौंको राजश्व छलेका यी गुटखा भारतीय बजारबाट नेपाली बजारहरुमा भित्रिदा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकपोष्टहरुले कहिल्यै समात्न सकेका छैनन् । साइकल, मोटरसाइकल र टेम्पु लगायत अन्य साना सवारी साधनमा ओसारीने अवैध गुटखालाई प्रहरीले देखे पनि नदेखे जस्तो गरेको स्थानीय बताउँछन् ।
अवैध कमाइको केही हिस्सा प्रहरीका घुमुवाहरुले उठाउने भएकाले यस्ता कारोवारी पक्राउ पर्न नसकेको स्रोतको दाबी छ । सुर्तिजन्य पदार्थको बिक्री वितरण नियन्त्रणका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवला निकाय सम्मिलित समिति भएपनि यस्तो अबैध कारोबार नियन्त्रण हुन सकेको छैन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका अनुसार सुर्ती सेवनबाट प्रत्येक वर्ष विश्व भरिमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ भने नेपालमा यसको संख्या २५ हजार रहेको छ ।
यस्तो डर लाग्दो अवस्था भएपनि अबैध कारोबारको नियन्त्रणका लागि खटिएका प्रहरीले नै तस्करलाई साथ दिन्छन् भने सर्वसाधारण जनताले कसको विश्वास गर्ने ?