
जनकपुर। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित स्वस्तिक ईङ्गलिस बोर्डिंग स्कुलका शिक्षक तथा शिक्षिकाले मिलेर विद्यार्थीलाई निमर्मता पुर्वक कुटपिट गरेका हुन् ।
बिहीवार होमवर्क नबनाएको भन्दै विद्यालयका शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई निर्घात कुटपिट गरेका थिए।। कुटपिटबाट सिद्धार्थको दाहिने हात भाँच्चिएको छ ।
घाइते बालकको अहिले उपचार भइरहेको छ । बुधबार पनि होमवर्क नबनाएको भन्दै शिक्षिका साहले उनलाई पाइपले कुटेका थिए । विद्यार्थीलाई पाइपले कुट्ने शिक्षिका प्रधानाध्पाक श्याम सुन्दर साहका पत्नी हुन् ।
तैपनि गाउँबाटै समान्य उपचारपछि बिहीवार समेत सिद्धार्थ विद्यालय पढ्न गएका थिए । त्यसदिन शिक्षक रब्बानीले डस्टर लिएर हातको सोही भागमा कुटेको सिद्धार्थका बुवा जितेन्द्र ठाकुरले बताए ।
कुटाइ यति निर्मम थियो कि दुखाइ सहन नसकेर ती बालका चिच्याउँदै घर भागेका थिए ।
लगतै सिद्धार्थका बुवा जितेन्द्रले विद्यालयका प्राधानाध्यपक साहलाई कुटपिट गरेको गुनासो सुनाउन पुगेका थिए ।
प्रधानाध्यापकले विद्यार्थीलाई समान्य चोट लागेकाले तातोपानीले मालिस गरि मल्हम लगान सुझाव दिएको उनले बताए । तर त्यती उपचारले ठिक नभएपछि जनकपुरस्थित डा.राम विनय चौधरी कहाँ उनी उपचार गराउन पुगे ।
‘गाउँबाट दुई तीनदिन सुइ दबाई गर्दा ठिक नभएपछि एक्सरे गरेर चेकजाँच गराउँदा डाक्टरले आधा हड्डी क्रेक भएको भन्नुभयो,’ उनले भने ।
अभिभावक ठाकुरका अनुसार स्कुलका शिक्षक तथा शिक्षिकाले त्यसअघि समेत सिद्धार्थलाई पटक पटक कुटपिट गरेका थिए । तर बदमासी गर्दा पिटेको होला भनी वास्ता नगरेको उनले बताए ।
‘बच्चा जति बदमासी गरेपनि यसरी गाईँभैसी जस्तो कुट्ने त होइन नि ? एउटा हात बच्चामै टुटेर डयामेज भइसकेको थियो अर्को हात यीनीहरुले तोडदिए,’ उनले गुनसो पोखे, ‘मेरो बच्चाको जिवनै बर्बाद गरेर अब दबाइमा जति पैसा लाग्छ दिन्छु भन्दैछ । हामी भिखारी होइन नि ?’
शिक्षिका शोभाले बुधवार पाइप लिएर सिद्धार्थलाई कुटेको प्रधानाध्यापक साहले समेत स्वीकार गरे । विद्यार्थीले कक्षामा हल्ला गर्नुका साथै होमवर्क समेत नगर्र्दा शिक्षिका शोभाले सिद्धार्थलाई एक पाइप कुटेको उनले बताए । भोलिपल्ट शिक्षक रब्बानीले मार्करले मात्र हिर्काएको उनले बताए ।
उनले भने, ‘दबाईमा के कति खर्च लाग्छ त्यसमा मिलाइदिन्छु भनेको छु ।’ यद्दपी मार्कर र एक पाइपले मात्र हिर्कार हातको हड्डी भाँच्चिनु सम्भव नरहेको अभिभावकको भनाई छ ।