
जनकपुरधाम- प्रदेश २ सरकारले कृषि क्षेत्रको विकासका लागि सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको बताए। विश्वविद्यालय स्थापनाका लागि तत्काल २५ करोड रुपैयाँ जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उनले बताए। मन्त्री साहले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिए।
‘विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुवात हुन्छ‚’ उनले भने‚ ‘यसका आवश्यक लागि रकम विनियोजन हुन्छ।’
यस्तै‚ प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ। यसका लागि २५ करोड रुपैयाँ छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले बताए।
यसैगरी चालु आर्थिक वर्षदेखि ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे’ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनासमेत रहेको जनाइएको छ।