
धनुषा- निर्माणाधीन ढल्केवर जटही ६ लेनको सडक खण्डमा धनुषाको क्षीरेश्वरवरनाथ नगरपालिकामा पर्ने औरही नदीको पुल निर्धारित समय भन्दा १० महिना अगावै सम्पन्न भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाको सीमामा रहेको यो पुल सम्भवतः देश कै सबै भन्दा ठूलो चौडाई भएको पुल हो। यहाँ एकै ठाउँमा ४ वटा पुल निर्माण भएको छ जसले पुरा ६ लेन सडकलाई कभर गरेको छ । यहाँ एउटा पुल पहिले नै निर्माण गरिएको थियो भने अहिले नयाँ ३ वटा एकै साथ निर्माण गरिएको छ ।

सरकार संग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा ती तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा १० महिना अगावै पुल निर्माणको काम सम्पन्न भएको हो ।

सरकार र ठेकेदार रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज १ गते सम्झौता भई मंसीरबाट काम सुरु भई असार महिना मै सवारी साधनका लागि पुल खुला गरिएको ठेकेदार कम्पनीका साइट इन्जिनियर कृष्ण ढुंगेलले बताउनुभयो।

इन्जिनियर ढुंगेलले भन्नुभयो, ‘असार ५ गते नै सवारी आवातजावतका लागि पुल खुला गरेका हौ. ।’ एकैपटक बनाइएका तीनवटा पुलको लागत राजश्व सहित ७२ करोड रहेको छ ।

तीनवटा पुल मध्ये २ वटा पुल तीन लेनका छन् । पुलको लम्बाई ९० मिटर र चौडाई १३ मिटर छ । सो पुलबाट एकैपटक एकातिरबाट तीनवटा सवारी साधन चलाउन सकिनेछ । छुट्टाछुट्टै लेनका लागि फरक फरक पुल नेपालमा पहिलो पटक यहिँ निर्माण भएको इन्जिनियर ढुंगेलले दाबि गर्नुभयो।

इन्जिनियर कृष्ण ढुंगेलले अर्को एउटा तेश्रो पुलको लम्बाई ९० मिटर र चौडाई ७ मिटरको सर्भिस लेन रहेको बताउनुभयो। उहाँले सर्भिस लेन पैदल यात्रुको प्रयोगका लागि रहेको जनाउनुभयो ।

पुल निर्माण भएको स्थानमा यस अघि एउटा पुल निर्माण भई सवारी साधनका लागि संचालनमा रहेको थियो । सोहि स्थानमा थप तीनवटा पुल निर्माण भएपछि एकै स्थानमा चारवटा पुल भएका छन् ।

पुल निर्माण योजनामा आएको बजेट सोही योजना खर्चिएका कारण र चाडबाड बाहेकका दिनमा वर्षायाममा समेत काम गरिएकाले योजना समय अगावै सकिएको ठेकेदार कम्पनीका इन्जिनियर कृष्ण ढुंगेलले बताउनुभयो ।

उहाँले देशको विकास निर्माणमा आफ्नो कम्पनी सधैं जवाफदेहि भएको भन्दै कुनै पनि योजना सम्पन्न गर्न कालिका टु दि रसुवा जेभीलेल म्याद थप गरेको रेकर्ड नभएको बताउनुभयो ।

