
जनकपुर । समाजमा रहेका युवा क्लबहरुले युवा वर्गको नेतृत्व तथा क्षमता विकासका लागि काम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जनकपुरधामका केहि युवा क्लबहरु आफ्नो कर्तव्य बिर्सेर नकारात्मक कामतर्फ बढि केन्द्रित भएको देखिएको छ ।
देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवा क्लबहरुको भूमिका महत्वपूर्ण हुनुपर्ने देखिन्छ ।
युवा लक्षित उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न युवाका मुद्दाहरुको वहस पैरवी केन्द्रको रुपमा विकास गर्न युवालाई सामाजिक दायित्व र कर्तव्य प्रति जिम्मेवार बनाउनका लागि समाजमा क्लबहरुको गठन गरिएको हुन्छ ।
तर, जनकपुरधामस्थित गणेश युवा कमिटीले गणेश पूजनोत्सवको नाममा समाजमा अश्लिलता फैलाउन उद्धत रहेको देखिएको छ । बुधबार राति जनकपुरधामस्थित रामचोकमा सो कमिटीका पदाधिकारीहरुले गणेश पूजाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा अश्लिल गीतहरुमा नर्तकी नचाएका छन् ।
गणेश पूजनोत्सवमा सो कमिटीले यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । तर, स्थानीय प्रशासन भने मुकदर्शक बनेको देखिन्छ । रामचोकमा स्थानीय प्रशासनबाट प्रतिबन्धित आर्केष्ट्रा प्रहरीकै संरक्षणमा नचाइएको छ ।
जिल्ला प्रहरी कार्यालयदेखि करिब ३०० मिटरको दुरीमा रहेको रामचोकमा रातभरी अश्लिल गीतमा आर्केष्ट्रा हुँदा पनि प्रहरी अनभिज्ञ रहेको छ । यस्ता कार्यक्रम प्रदर्शनमा रोक लगाइएकोले यसबारे कुनै जानकारी नभएको भन्दै प्रहरी पन्छिन खोजेको छ । तर स्वयं प्रहरी नै प्रदर्शनमा देखिनुले उसको भूमिकामाथि पनि शंका उब्जिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले गणेश युवा कमिटीले त्यस कार्यक्रमका लागि स्थानीय प्रशासनसँग कुनै अनूमति नलिएको बताए ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले यस्ता कार्यक्रम प्रदर्शनका लागि स्थानीय प्रशासनसँग कुनै अनुमति कसैले नलिएकोले बताए ।
बुधबार राति भोजपुरी भाषाको विभिन्न अश्लिल एवम् दोहारो अर्थको शब्दहरु प्रयोग गरी बनाइएको गीतहरुमा अश्लिल तरिकाले नृत्य गरिएको थियो ।
रामचोकको खुल्ला स्थानमा कार्यक्रम समाप्त भएपछि नर्तकीहरुलाई त्यहाँबाट शुभम होटेलको सभाहलमा लगी कमिटीका पदाधिकारी तथा वरिष्ठहरु बिच नृत्य गराउन लगाइएको थियो ।
विगत कैयौं वर्षदेखि धनुषसागर पोखरीको पश्चिमी डिलमा बलपूर्वक कब्जा जमाएर बसेका गणेश युवा कमिटीले गत वर्ष मन्दिर नै निर्माण गरेका छन् । यसअघि धनुषसागरकै डिल कब्जा गरी बैशाखी निर्माण गरेर आफ्नो नाममा सञ्चालन गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांकलाई हेर्दा धनुषामा मात्र ६५० वटा युवा क्लबहरु दर्तामा रहेका छन् । जसमध्ये आधाभन्दा बढि जनकपुरधाममै छन् ।
तर, तिनीहरुले समाज परिवर्तनका लागि कुनै सकारात्मक कामहरु गर्न सकेको छैन् । झन कुनै राजनीतिक दलको संरक्षणमा समाजमा अश्लिलता फैलाउन उद्धत भएको देखिन्छ ।स्रोत - टुडेपाटी