
महोत्तरी। बलात्कार र गर्भ संरक्षण बिरूद्धको कसुर मुद्दाको फरार प्रतिवादी महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.९ परिकौली बस्ने २३ वर्षीय आकाश झालाई पक्राउ गरि सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश बिष्टको अनुसार झा माथि निजले घरमा काम गर्ने एक महिलाकी १३ वर्षिय नाबालिग बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी लामो समय यौन शोषण गरी गर्भवती बनाएको र पछि साढे ७ महिनाको बच्चा गर्भपतन गराई बच्चा समेत वेपत्ता गराएको आरोप छ ।
पीडित परिवारजनको अनुसार पीडित बालिका आमा विरामी भएर गत पुस महिनामा आमाको ठाउँमा काम गर्न गएको बेला आकाशले घरमा कोहि नभएको मौका छोपी ललाई फकाई प्रलोभनमा पारि बलात्कार गरेका थिए । त्यस दिन पहिलो पटक बलात्कार गरेका आकाशले त्यसपछि बालिकालाई विहेको प्रलोभन देखाई लगाताकार ८ महिना सम्म यौन शोषण गरिरहे र बालिका गर्भवति हुन पुगिन्। त्यसपछि घटनालाई ढाक छोप गर्नको लागि आकाश सहित निजको वुवा युद्धनाथ झा र ममता झाले जनकपुरधाम स्थित केयर मेडिकल सेन्टर प्रा.लि. नसिंग होममा लगि चिकित्सकलाई समेत प्रभावमा पारी बालिकालाई नसालु औषधी खुवाई गर्भमा रहेको साढे ७ महिनाको बच्चा गर्भपतन गराई बच्चा समेत वेपत्ता बनाएका थिए ।
यस घटना पश्चात पीडित परिवारजनले साउन २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आकाश झा, निजको वुवा र आमा उपर कानुनी कारवाहीको माग गर्दै उजुरी दिएका थिए । उजुरी दिएको जानकारी भएपछि आरोपीहरु फरार रहँदै आएको मुख्यआरोपी आकाश झालाई भदौ २० गते पक्राउ गरिएको डीएसपी बिष्टले जनाए ।
डीएसपी बिष्टका अनुसार लुकि छिपि बसिरहेको अवस्थामा घर आएको जानकारी भएलगतै प्रहरी परिचालन गरि आकाशलाई पक्राउ गरीएको हो । पक्राउ परेका उनलाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट आज म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढि रहेको छ ।
यस्तो थियो घटना
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.९ परिकौलीगाउँमा आफ्नो जिविकोपार्जनको लागि अरुको घरमा कामकाज गर्दै आएकी एक महिला कामदारकी १३ वर्षीया छोरी मालिकका २३ वर्षीय छोराबाट विगत आठ महिनादेखि बलात्कृत हुँदै आएको रहस्य बाहिरिएको हो ।
युद्धनाथ झा र ममता झाका २३ वर्षीय छोरा आकाश झाले परिवर्तित नाम (आशाकुमारी ) लाई विभिन्न लोभ लालच, प्रलोभनमा पारि विगत आठ महिनादेखि यौन शोषण गर्दै आएको पीडित बालिकाले बताएकी छिन् ।
आमालाई काममा सघाउन कहिले काहि जानेआउने गर्थिन बालिका
घरेलु कामदारको रुपमा कामकाज गर्दै आएकी आमालाई सघाउन भनि छोरी (आशाकुमारी ) पनि मालिकको घरमा आउजाऊ गर्न थालेपछि मालिकका छोरा आकाशले उनीमाथि गिद्धे नजर राख्न थाले ।
आठ महिनादेखि यौनशोषणमा पर्दै आएकी बालिकाको पेट दुखेर चेकजाँचका लागि जनकपुर स्थित सिटी अस्पतालमा मालिक कै सहयोगमा पुगेकी बालिकाको पेटमा सात महिनाको गर्भ रहेको पुष्टि भएपछि यो घटना बाहिर आयो ।
गर्भपतन सहित बच्चा गायव पारियोे
बालिकाको पेटमा गर्भ रहेको खुलेपछि आकाशका घरपरिवार मिलेर घटना लुकाउनको लागि जनकपुरको केयर मेडिकलमा ती बालिकाको साढे ७ महिनाको गर्भ तुहाएर बच्चा समेतलाई वेपत्ता बनाए। गर्भ तुहाएपछि घाउँ ठीक नभएसम्म भारतको अछरवा भन्ने ठाउँमा केही समय राखेर छोरीलाई घर ल्याएको पीडितकी आमाको आरोप छ । बालिका (आशाकुमारी ) अहिले पनि पूर्णरुपमा निको भइसकेकी छैनन् । अझै पनि पटक पटक पेटमा समस्या देखिने गरेकोले उनलाई अस्पताल लगिरहनु पर्छ ।
प्रहरीमा दिएको उजुरी दिए पनि लामो समय सम्म सुनवाई भएन
पीडित बालिकाकी आमा र बालिकाले घटनाबारे साउन २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिए । उनिहरुले जलेश्वर स्थित ओरेक नेपालमा समेत न्यायनको लागि पहल गरिदिन निवेदन दिए। तर लामो समय सम्म कारवाही प्रक्रिया अघि नबढेको र कतैबाट पनि सहयोग नपाएको गुनासो पीडित परिवारजनको छ ।
पीडित पक्षले पीडक आकाश र उनको परिवारजनले पैसा र पहुँचको आधारमा घटना सामसुम पार्न खोजेको आरोप लगाउँदै आएको छ । आफूहरुलाई ज्यानमार्ने धम्की सहित पैसाको प्रलोभन दिएर घटना मिलाउन समेत प्रयासरत रहेको पीडित पक्षको गुनासो छ । आफु गरिब भएकै कारण छोरीमाथि अन्याय भएको भन्दै १ महिना पहिला नै विभिन्न निकायमा उजुरी दिएपनि अहिलेसम्म कुनै निकायले न्याय दिलाउन चासो नदिएको पीडित पक्षको भनाइ रहेको छ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी दिनेश आचार्यले आफूहरु घटनाबारे सत्यतथ्य बुझ्ने तथा आवश्यक अनुसन्धानमा लागि रहेको दावी गर्दै आएकोमा भदौ २० गते मुख्यआरोपीलाई पक्राउ गरिएको हो ।
https://shirishnews.com/banner-news/3573.html/