महोत्तरी — भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै बाढी, डुबान र नदी कटानको जोखिम बढ्न सक्ने भन्दै महोत्तरीमा उच्च सतर्कता अपनाउन स्थानीय तहहरूलाई निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि उद्धार टोली, राहत सामग्री तथा हेभी उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।



जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै प्रशासनले असोज ९ गतेदेखि ११ गतेसम्म देशका अधिकांश भू–भागमा मेघगर्जन र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाको प्रत्यक्ष प्रभाव महोत्तरीमा समेत पर्न सक्ने भएकाले विपद् आउनुअघि नै आवश्यक तयारी पूरा गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको हो।
प्रशासनका अनुसार वर्षाका कारण जिल्लाका रातु, राँके, बडहरी, जंघा, मरोहालगायत नदी तथा खोलामा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्छ। बहाव बढेसँगै नदी कटान तथा सहरी र ग्रामीण क्षेत्र डुबानमा पर्न सक्ने भएकाले जोखिमयुक्त बस्तीको पहिचान गरी पूर्वतयारी गर्न भनिएको छ।
नदी, खोला तथा डुबानको जोखिममा रहेका तटीय र संवेदनशील बस्तीमा माइकिङमार्फत तत्काल सूचना प्रवाह गर्न प्रशासनले स्थानीय तहलाई निर्देशन दिएको छ। साथै स्थानीय सञ्चारमाध्यममार्फत मौसम, बाढी तथा डुबानसम्बन्धी सूचना निरन्तर सम्प्रेषण गर्ने व्यवस्था मिलाउन भनिएको छ।
सम्भावित उद्धारका लागि लाइफ ज्याकेट, लाइफ ब्वाय, डोरी, रबर बोट वा डुंगा, बन्चरो, स्ट्रेचर, टर्चलाइटलगायत खोज तथा उद्धार सामग्री दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ। सडक तथा बाटोघाटो अवरुद्ध भए तत्काल खुलाउन आवश्यक पर्ने जेसीबी, एक्साभेटर र लोडरलगायत हेभी उपकरणलाई चौबीसै घण्टा परिचालन गर्न सकिने गरी ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्नसमेत भनिएको छ।
बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्भावित आश्रयस्थलको पूर्वपहिचान गर्न पनि स्थानीय तहलाई निर्देशन दिइएको छ। सामुदायिक भवन, विद्यालय तथा पक्की सार्वजनिक स्थललाई आवश्यकताअनुसार आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी खानेपानी, सरसफाइ र विद्युत्को व्यवस्था मिलाउन प्रशासनले भनेको छ।
प्रभावित परिवारका लागि आवश्यक पर्ने चिउरा, दालमोठ, बिस्कुट, तयारी खाना, त्रिपाल र म्याट्रेसलगायत आकस्मिक राहत सामग्री अग्रिम रूपमा भण्डारण गर्नसमेत निर्देशन दिइएको छ।
सम्भावित विपद्पछि पानीजन्य तथा संक्रामक रोग फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय तह मातहतका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राख्न भनिएको छ। स्वास्थ्य संस्थामा आवश्यक औषधि, जीवनजल, एन्टिबायोटिक तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था मिलाउन प्रशासनले निर्देशन दिएको हो।
त्यसैगरी स्थानीय तथा वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउँदै जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक र स्थानीय युवालाई समेटेर द्रुत प्रतिकार्य टोली गठन तथा परिचालन गर्न भनिएको छ।
विपद्को समयमा सुरक्षा निकायसँग निरन्तर समन्वय कायम गर्न पनि प्रशासनले स्थानीय तहलाई निर्देशन दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासँग समन्वय गर्दै कुनै घटना भएमा वा जोखिमको अवस्था देखिएमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई तत्काल जानकारी गराउन भनिएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई समेत आवश्यक तयारी अवस्थामा राखेको जनाएको छ। सशस्त्र प्रहरीलाई उद्धार टोली तयारी अवस्थामा राख्न तथा नेपाल प्रहरीसँग आवश्यक समन्वय गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि महोत्तरी प्रशासनले विपद् आउनुअघि नै स्थानीय तहका स्रोतसाधन परिचालन गरी उद्धार तथा राहत संयन्त्रलाई तयारी अवस्थामा राख्न जोड दिएको हो।




