सप्तरी - सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपाका बौन दासलाई कसैले एक्कासी हेर्दा बच्चा नै हो कि भन्ठान्छन् । तर, दास अहिले ३६ वर्षका भएका छन् । उनको उचाइ २ फिट ३ इन्च छ ।
उनी जन्मजात नै पूर्ण रुपमा शारीरिक अपांगता छन् । खुट्टासँगै हातको बल नदिई उनी घस्रिन समेत सक्दैनन् । उनी घस्रिएरै एक ठाउँबाट अर्को ठाउँ जान्छन् । सबैभन्दा पीडा उनलाई दिसा गर्ने बेलामा हुन्छ । घरमा शौचालय छैन । बिहान घस्रिएरै खेतबारी जानुपरेको पीडा बौन सुनाउँछन् ।
यसरी शौचालय आफैं जान सक्दैनन् उनी । तिर्खा लागेमा एक गिलास पानी लिन पनि अर्कैको सहारा चाहिन्छ । एक ठाउँबाट अर्को ठाउँमा त के एक घरबाट अर्को घर जान पनि समस्या हुन्छ उनलाई ।तीन दाजुभाइमध्ये माइला हुन् उनी । दाजु र भाइले कुनै मतलब नै नराखेको उनको भनाइ छ । आमाबुवाको निधनपछि बौन कान्छा भाइ–बुहारीसँग एउटा फुसको घरमा बस्दै आएका छन् ।
आफ्नो घरमा कष्टप्रद जीवन बिताइरहेका उनलाई खाना पकाएर कान्छा भाइकी श्रीमतीले दिने गर्छिन् । उनको रेखदेखमा त्यति ध्यान दिएको पाइँदैन । घरमा कल (ट्युबवेल) त छ तर पानी भरेर पिउन सक्दैनन् उनी । कल चलाउन उठ्नुपर्छ । तर उनी उठ्नै सक्दैनन् । ‘घरमा कोही भएपछि पानी पिउँछु, नभए हल्ला गरेर छिमेकीलाई नै बोलाउनुपर्छ,’ उनी भन्छन् ।
पूर्ण अपांगता भए पनि गाउँपालिकाले उनलाई हरियो कार्ड दिएर सुविधा दिँदै आएको थियो । अहिले केही युवाहरुको मद्दतमा उनलाई रातो कार्ड दिइएको छ । ‘चालु आर्थिक वर्षदेखि उनलाई रातो कार्ड दिइएको छ,’ स्थानीय युवा कौशल यादवले भने । सरकारबाट आउने अपांगता भत्ता बापतको रकम भाइलाई दिएपछि त्यसबापत उनले खाना खाँदै आएका छन् ।
युवाको पहल : सहयोग संकलन गरेर घर निर्माण
बौनको कष्टपूर्ण जीवनयापनलाई देखेपछि स्थानीय युवाले उनको घर बनाइदिने काम अगाडि बढाएका छन् । ‘उनको व्यथाबारे जानकारी पाए लगत्तै हामीले उनका लागि अपांगमैत्री घर बनाउन अग्रसरता देखाएका छौं,’ स्थानीय युवा कौशल यादव भन्छन्, ‘यसका लागि सामाजिक सञ्जाल मार्फत सहयोग संकलन शुरु गरेका छौं ।’
कतिले हजार त कतिले २ या ३ हजार सहयोग गरेको यादवले बताए । एक महिनाअघि निर्माण शुरु गरिएको घर बनाउन रकम अपुग हुने भएपछि युवाहरुले रु १ लाख ५० हजार ऋण नै लिएका छन् । गाउँका तीन जनासँग डेढ लाख ऋण लिएका उनीहरुले घर जति चाँडो पूरा गर्ने तयारीमा छन् । ‘सहयोग आएमा ती ऋण चुक्ता गर्छौं,’ यादवले भने, ‘दशैंसम्म दासलाई अपांगमैत्री वातावरणमा जीवन बिताउन दिने चाहना पूरा छ ।’
‘घरमा दासले प्रयोग गर्न सक्ने शौचालय, खानेपानीको व्यवस्था गरिनेछ’ यादवले भने, ‘यसका केहि मनकारी व्यक्तिले सहयोग गर्नुभएको छ । अन्यसँग पनि सहयोगको अपेक्षा गरेको छु ।’