काठमाडौं - काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड रुपैयाँ जरिवाना सहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
तीनकुने पुल अलपत्र पारेको भन्दै कम्पनीले क्षतिपूर्ति असुल गर्न लागेको हो। बुधवार सूचना निकाल्दै आयोजनाले हिसाब फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिलाई कम्पनीको छाप र परिचयपत्र सहित सात दिनभित्र कार्यालयमा सम्पर्क राख्न भनेको छ।
असार २२ गते लगायत विभिन्न मितिहरुमा हुलाकमार्फत् पत्राचार गर्दा ठेगाना फेला नपरेको भन्दै फिर्ता आउने गरेको सूचनामा उल्लेख छ।
आयोजना र कम्पनीका बिचमा डिजाइन्ड एण्ड बिल्ड प्रक्रियाबाट नेटवर्क आर्क ब्रिज निर्माण गर्न २०७१ पुस ४ मा सम्झौता भएको थियो। कम्पनीले करार दायित्व पूरा गर्न नसकेकाले २०७६ मंसिर ३ गते खरीद सम्झौता अन्त्य गरिएको थियो। गुणस्तरहीन काम गरेपछि आयोजनाले ठेक्का रद्द गरेको हो।
‘कम्पनीले काम गरेको पैसा भुक्तानी पाइसकेको छ। तर मोबिलाइजेसनको ब्याज र ठेक्का तोड्दा राज्यलाई ५ करोडको थप दायित्व सिर्जना भएको छ,’ आयोजनाका इन्जिनियर अशोक यादवले भने, ‘पप्पुसँग असुलेर पुल निर्माण अघि बढाउन लागेका छौं।’
पप्पुले गरेको काममा एउटा पाइल सहितको संरचना काम लाग्ने देखिएको आयोजनाले जनाएको छ। जसबापत करिब ६ करोड भुक्तानी पाएको छ। काम लाग्ने संरचना स्वीकार गरेर बाँकी निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ। अहिले उक्त ठेक्का मूल्यांकनको चरणमा छ।