
महोत्तरी - मधेस राजनीतिका प्रभावशाली नेता शरत सिंह भण्डारीले बिहीबार नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सदस्यता लिएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुरका हातबाट उनले राजधानीमा औपचारिक रूपमा सदस्यता ग्रहण गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी अध्यादेश आएपछि जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको लोसपा नेपाल गठनमा भण्डारीको भूमिका महत्वपूर्ण र निर्णायक रहेको छ । पार्टीभित्र संसदीय दलमा हाराहारी र केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा पुगेका ठाकुरलाई भण्डारी कै आडभरोसाले नयाँ ढंगले संगठित हुने साहस दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

राजेन्द्र महतो निकट मानिएका ठाकुर पक्षका अधिकांश नेताहरू जसपा नेपालमा उपेन्द्र यादवको कित्तामा गए पनि भण्डारीले आफू नजिकका नेताकार्यकर्ताहरूलाई नवगठित पार्टीमा ल्याउन सफल भएका छन् ।