
जनकपुरधाम- धनुषाका स्थानीय तहहरूले कोरोना महामारीको समयमा २२ करोड रुपैयाँभन्दा बढी रकम खर्चेका छन् ।
धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिकासहित १८ वटा स्थानीय तह रहेकामा ती तहहरूले २२ करोड ४ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेका महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
चैत ११ भन्दा पहिले यहाँको जनजीवन समान्य थियो । कोरोना महामारीका क्रममा स्वास्थ्य सुरक्षा अपनाउँदै सरकारले मुलुकभर लकडाउन घोषणा गर्यो । लकडाउनपश्चात् कोरोनाको नाममा स्थानीय तहले मनपरी रकम खर्चेको पाइएको हो ।
आर्थिक वर्ष ०७६÷०७७ को चैतदेखि असारसम्ममा क्वारेन्टिन खर्च, मास्क, सेनिटाइजर, खानालगायतका शीर्षकमा सो रकम खर्च गरेको समेत देखाएका छन् ।कोरोनाकालमा सबैभन्दा बढी जनकपुरधाम उपमहानगरपालिकाले ३ करोड ५ लाख ७८ हजार ९ सय ३२ रुपैयाँ खर्च गरेको तथ्यांक महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरणका नाममा १ करोड ४६ लाख १६ हजार ४ सय ५० रुपैयाँ खर्च गरेको छ भने क्वारेन्टिन होल्डिङ्ग सेन्टरबापत ६८ लाख ९१ हजार ५ सय ५९ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गणेशमान चारनाथ नगरपालिकाले २ करोड ३२ लाख ७२ हजार ६ सय ६४ रुपैयाँ कोरोनाका नाउँमा खर्च गरेको प्रतिवेदनमा भनिएको छ ।
नगराइन नगरपालिकाले १ करोड ७९ लाख ६७ हजार १ सय ९२, सबैला नगरपालिकाले १ करोड ५७ लाख १५ हजार, मिथिलाबिहारीले १ करोड ४० लाख २९ हजार १ सय ३६, लक्ष्मीनिया गाउँपालिकाले १ करोड ३९ लाख ९१ हजार २ सय २ रुपैयाँ कोरोना महामारीका नाउँमा खर्च गरेका छन् । हंसपुर नगरपालिकाले आव २०७६÷७७ मा १ करोड २३ लाख ६९ हजार ५ सय २९ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
हंसपुर नगरपालिकाले १६ लाखभन्दा बढीको मास्कमात्र खरिद गरेको छ । नगरपालिकाले वैदेही कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग कपडाको मास्क खरिद गर्दा ३ लाख ७२ हजार ९ सय, ऋद्धिसिद्धि ट्रेडर्सबाट कपडाको मास्क खरिद गर्दा ४ लाख ९७ हजार २ सय, कबीर जेनरल अर्डर सप्लायर्ससँग ८५ हजार २ सय ५८, आदित्य इन्टरनेसनलसँग के एन ९५ मास्क खरिदबापत १ लाख ५४ हजार ५ सय ६०, वैदेही कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग पिपिई सेट, मास्क सेनिटाइजर खरिद गर्दा ३ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कमला नगरपालिकाले आव २०७६÷०७७ मा १ करोड २३ लाख १५ हजार ७ सय ९५ रुपैयाँ कोरोना महामारीमा खर्च गरेको छ ।
त्यस्तै क्षीरेश्वरनाथ नगरपालिकाले १ करोड १५ लाख ५ सय ५५ रुपैयाँ, विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार १३ रुपैयाँ, सहिदनगर नगरपालिकाले १ करोड ३ लाख ७८ हजार २३ रुपैयाँ, जनकनन्दिनी गाउँपालिकाले ९६ लाख ७६ हजार ७ सय ८९ रुपैयाँ, धनुषाधाम नगरपालिकाले ९६ लाख १ हजार ४ सय ६२ रुपैयाँ, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले ९४ लाख १९ हजार ७ सय २ रुपैयाँ, धनौजी गाउँपालिकाले ५६ लाख ५० हजार ६ सय रुपैयाँ, औरही गाउँपालिकाले ५३ लाख ९५ हजार २ सय ५४ रुपैयाँ, मिथिला नगरपालिकाले ५२ लाख ६७ हजार ११ रुपैयाँ र बटेश्वर गाउँपालिकाले कोरोना महामारीमा २० लाख ९५ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेका छन् ।