ढल्केवर (धनुषा) - पूर्व–पश्चिम राजमार्गमा अवस्थित छ ढल्केबर । धनुषा जिल्लाको उत्तरी भेगमा पर्ने ढल्केवर प्रदेश २ को अस्थाई राजधानी जनकपुरधामको प्रवेशद्वारको रुपमा पनि परिचित छ ।
शहरोन्मुख बन्दै गरेको ढल्केवर र त्यस आसपासका क्षेत्रमा डरलाग्दो अपराधिक प्रवृत्ति मौलाउँदै गएको छ । बलात्कार, हत्या, चोरी, लुटपाट जस्ता घटना बढ्दैं गएको हो । जहाँ एउटा घटना हिँसात्मक घटना सेलाउन नपाउँदै अर्को घटना दोहोरिन्छ ।
पछिल्लो तीन वर्ष यता देशलाई स्तबध बनाउने घटना घटे । मिथिला नगरपालिकाको प्रमुख केन्द्र रहेको ढल्केबरको सुरक्षा अवस्था कमजोर बन्दै गएको स्थानीयको भनाई छ ।
धार्मिक तथा पर्यटन क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण सम्भावना बोकेको ढल्केवरमा बढ्दो अपराधिक गतिविधीले असुरक्षित महशुस गरिरहेका छन् स्थानीयवासी ।
घटना–१
सालीसँग प्रेम बसेपछि धनुषाको मिथिला नगरपालिका वडा नम्बर–९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले श्रीमतीको हत्या गरे । सालीको उक्साहटमा उनले २५ वर्षिया पत्नी विणा चौहान लामाको जीवनमा पूर्णबिराम लगाइदिए ।
आफ्नी कान्छी साली गंगासँगको प्रेम सम्बन्धमा श्रीमती विणा बाधक बनेपछि चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उसैले लगाएको शलले घाँटी बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले २०७७ बैशाख २१ सोमवार अबेर राति चार दिनपछि उत्खनन् गरेर निकालेको थियो ।
बैशाख १८ गते बिहीबार साँझ विणालाई बलो काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको शलले बेरेर उसको हत्या गरे । शवलाई जंगलमै गाडेर लुकाए । हरि र उनकी कान्छी साली पुर्पक्षका लागि थुनामा छन् ।
घटना–२
अबैध खोला उत्खननको विरोध गर्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ बर्षिय ओमप्रकाश भनिने दिलीप महतोलाई क्रसर डनले टिपरले किचेर हत्या गरे । २५ पुष २०७६ मा औरही खोला उनको निर्मम हत्या भयो । कोखाँमा फलामको लिभरले घोचेर घाइते बनाइयो । बेहोस भएपछि लिकमा राखेर टिपर चलाएर किचियो ।
दिलीपको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चुरियामाई बालुवा प्रसोधन उद्योगका सञ्चालक विपिन महतो र उनका कमादारलाई पक्रियो । घटनामा संलगन भएका उद्योगी महतो, टिपर चालक महोत्तरी बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३४ वर्षीय मुनिन्द्र महतो, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुराका २२ वर्षीय जितेन्द्रकुमार महतो जेलमा छन् ।
यहि केसमा ढल्केवरका तत्कालिन इन्सपेक्टर रामकुमार यादवले मुचुल्कै विना शव उठाएर दुर्घटनाको रुप दिन खोजेको स्थानीयले आरोप लगाएपछि उनलाई ६ महिनाका लागि निलम्बित गरिएको थियो । कारबाहीमा परेका यादव केहि महिनाअघि डिएसपीमा बढुवा भइसकेका छन् ।
घटना–३
मिथिला नगरपालिका–६ ढल्केवरका अढाई बर्षिय बालक आर्यन साहको प्रहरी कार्यालय नजिकै घाँटी रेटेर हत्यो गरियो । प्रहरीले स्वीइको पनि पाएन । २०७६ वैशाख २४ गते बिहान उनको हत्या भएको थियो । शक्तिशाली तान्त्रिक बन्ने भन्दै मन्त्रसिद्धिका लागि स्थानीय ५५ वर्षीय शत्रुुधन महतोले चमेली देवीलाई बली चढाउन आर्यन भनिने समीरकुमार साहलाई घाँटी रेटेर हत्या गरे ।
घर अगाडी खेल्दैं गरेका उनको चकलेट दिएर उनले लगेका थिए । घरमा बन्धक बनाए् राति करिब २ बजे धारिलो हतियारले घाँटी रेटेर उनको हत्या गरिएको थियो । प्रहरी कार्यालयको फूलबारी पछाडि उनको शव फेला परेको थियो । महतोसंगै उनको गुरु भनिएका जंगली महतोलाई समेत पक्राउ गरेको थियो । तर पछि अदालतले जंगलीलाई रिहा ग¥यो । शत्रुधन भने जलेश्वर कारागारमा जेलजीवन बिताईरहेका छन् ।
घटना–४
आर्थिक लेनदेन र जग्गा विवादले ठूलोरुप लियो । ९ पुष, २०७५ मा मिथिला नगरपालिका–९ बडहरीमा जेठाजुले धारीलो खुखुरी प्रहार गरी बुहारीको हत्या गरे । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका श्रीप्रसाद पञ्जियारले आफ्नी भाइबुहारी रानीदेवी पञ्जियारको ज्यान लिए ।
आँपको बगैँचामा उनले निर्मम हत्या गरेर फरार भए । धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएएकी रानीको उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटोमा उनले संसार छाडिन् । आरोपी श्रीप्रसाद जेल जीवन बिताइरहेका छन् ।
घटना–५
एघार वर्षीय बालिका रेश्समा भनिने दुतीया रसाइलीको हत्याको घटना सम्झिदैं जीउ सिरिङ हुन्छ । १ फागुन २०७५ मा मिथिला नगरपालिका–३ हरिहरपुर मगरटोलकी उनको बलात्कारपछि जलाएर हत्या गरियो । छिमेकीको छोरीको विवाहमा उनी राती नाच्दैं थिइन् । वैवाहिक कार्यक्रममा सरिक हुन मामा घर आएका धनुषाको बटेश्वर गाउँपालिका–४ बेंगारी टोलका का २२ वर्षीय निरन जर्घामगरले रसाइलीलाई बलात्कारपछि जिउँदै जलाएर हत्या गरे ।
लाइन कटेको मौका छोपी उनले बालिकालाई गाउँ नजिकैको उखु बारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरे । लागुऔषधको अमली रहेका मगरले घटना लुकाउन शवलाई जलाएका थिए ।मगर अहिले जेलसजाय भोगिरहेका छन् ।
घटना–६
राजमार्ग नजिकै कच्ची बाटोमा भारतीय गाडी भित्र अपरिचित व्यक्तिको लाश भेटियो । अन्तैबाट हत्या गरेर १९ माघ, २०७५ मा मिथिला नगरपालिका–३ स्थित हरिहरपुरमा हत्या गरेर फालेर अवस्थामा गाडी भित्र पुरुषको शव भेटिएको थियो । बिआर ०७ पीए ५०८७ नम्बरको स्कार्पियो गाडीमा शंकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले हेटौडाबाट प्रशिक्षित कुकुर ल्याएर अनुसन्धान थालेका थिए । घटनामा संलग्नहरु अझै पक्राउ परेका छैनन् ।
यि त केही प्रतिनिधी घटना मात्रै हुन् । प्रहरीले दिएको तथ्यांक अनुसार ढल्केवर इलाका क्षेत्रभित्र आर्थिक बर्ष २०७५/०७६ मा १ जना, ०७६/७७ मा २ जना र ०७७/७८ मा १ जनाको हत्या भएको छ । यस्तै आर्थिक बर्ष २०७५/०७६ मा तीनजना, ०७६/७७ मा ६ जना र ०७७/७८ मा ६ जना महिलामाथि बलात्कारको घटना भएको प्रहरीको तथ्यांक छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै २ जना महिलामाथि बलात्कारको घटना भएको हो ।
लागुऔषधतर्फ आर्थिक बर्ष २०७५/०७६ मा तीनजना, ०७६/७७ मा ९ जना र ०७७/७८ मा ६३ बोतल कोरेक्स र ३२० ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेर कारबाही दायरामा ल्याएको तथ्यांक छ ।
यस्तै पछिल्लो आर्थिक वर्षहरुमा चोरीको घटनामा व्यापक वृद्धि हुँदै गएको देखिन्छ । इप्रका ढल्केवरको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५/०७६ मा तीन, ०७६/७७ मा ६ र ०७७/७८ मा १२ ठाउँमा चोरीको घटना भएको छ । चालु आर्थिक वर्षको दुई महिनामै ३ चोरीको घटनामा प्रतिवादीहरुलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ । दर्जनौं ठाउँमा चोरी भएपनि पीडिले जाहेरी दिन नखोजेपछि अनुसन्धानमा समस्या भएको प्रहरी श्रोतको भनाइ छ ।
प्रहरीको तथ्यांक अनुसार पछिल्लो तीनवर्षमा ४ जनालाई हातहतियारसहित पक्राउ गरेको छ ।
कोरोनाकालयता जघन्य अपराधका घटनाहरुमा केही कमी आएपनि स्थानीयको मनमा त्रास भने कायमै छ । पछिल्लो केहि दिनयता ढल्केबर क्षेत्रमा लुटपाट तथा चोरीको घटनामा वृद्धि भएको छ । दिउँसै सुन पसलबाट चोरी भएपछि स्थानीयहरु असुरक्षित महसुस गरिरहेका छन् ।
गत भदौ १८ गते ढल्केवरस्थित रहेको गणेश लक्ष्मी ज्वेलर्सबाट ५० तोला चाँदीको गरगहना चोरी भएको पसल सञ्चालक शिवजी साहले दावी गरेका थिए । चोरीमा संलग्न र चोरीका गहना किन्ने दुईजनालाई प्रहरी १२ तोला चाँदीसहित पक्राउ गरेर मुद्दा चलायो ।
त्यसअघि नेपाल विधुत प्राधिकरणको प्रसारण निर्देशनालय ढल्केवरको प्रांगणबाट झण्डै ३ क्वीन्टल तामाको तार चोरी भएको थियो । गत भदौ ५ गते चोरी कार्यमा संलग्न र तार खरिद गर्ने पसलसञ्चालक सहित दुई जना पक्राउ परे । उनीहरुमाथि प्रहरीले चोरी कसुरमा मुद्दा चलाएको छ । महिनादिन भित्रै ढल्केवरको दर्जनौं ठाउँमा चोरी भएको छ ।
दिनदहाडै चोरीको घटनाले स्थानीय प्रहरी प्रशासनमाथि प्रश्न चिन्ह खडा भएको ढल्केवरका स्थानीय रमेश दास बताउँछन् ।
चोरी तथा विभिन्न किसिमका अपराधका घटना नियन्त्रण गर्न मोबाइल गस्ती, प्रहरीको क्वीक रेस्पोन्स टिम परिचालन गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरको दावी छ । गएको बैशाखमा इलाका प्रहरी कार्यालय ढल्केवरको कमाण्ड सम्हाल्न प्रहरी निरिक्षक प्रदिप सुवेदी हाजिर भएका छन् । यस भेगमा मौलाउदै गएको अपराधका घटना शुन्य पार्न प्रहरी निरिक्षक सुवेदीले आफ्नो सक्रियता बढाएको छ ।
मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा गरी कुल जनसंख्या १ लाख ३० हजारको हाराहारीमा छ । त्यस क्षेत्रमा दर्जनौं बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनमा छन् । झण्डै दुई हजारौंको संख्यामा साना तथा ठुला पसल व्यवसायीहरु पनि व्यवसाय गरिरहेका छन् । तर पछिल्ला चोरीको घटनाक्रमले सबै असुरक्षित महसुश गरिरहेको मिथिला उद्योग वाणिज्य संघका सदस्य समेत रहेका स्थानीय व्यवसायी गणेश कुमार महतोको बुझाइ छ ।
इलाका प्रहरी कार्यालय ढल्केवर मातहतमा ६ वटा प्रहरी चौकी छ । त्यस अन्तर्गत लालगढ प्रहरी चौकी, अस्थाई प्रहरी पोस्ट बडहरी, इलाका प्रहरी कार्यालय यज्ञभूमी, इलाका प्रहरी कार्यालय भरतपुर विरेन्द्र बजार, प्रहरी चौकी पोर्ताहा र प्रहरी चौकी चिसापानी रहेको छ । इप्रका ढल्केवर र त्यस मातहतका प्रहरी चौकीमा गरी जम्मा १०९ जना प्रहरीको दरबन्दी छ । तर हाल ८७ जना मात्र कार्यरत रहेको ढल्केवरका प्रहरी निरिक्षक सुवेदी बताउँछन् । दरबन्दी अनुसारको प्रहरी नहुँदा थप समस्या भएको उनको भनाइ छ ।
००००
संतोष कुमार महतो, उपाध्यक्ष मिथिला उद्योग वाणिज्य संघ ढल्केवर
बढ्दौ अपराधलाई रोक्न सर्वप्रथम लागुऔषध नियन्त्रण आवश्यक छ । पछिल्लो समय स्थानीय केहि औषधी व्यवसायीले नै लागुऔषध विक्री वितरण गरेपछि शान्ति सुरक्षामा चुनौती थपिएको छ । लागुऔषध सेवन गरेर कुलतमा फसेका कलिला युवाहरु चोरी गतिविधीमा संलग्न देखिएको छ । त्यसविरुद्ध पनि प्रहरीले आवश्यक कदम चाल्नु पर्ने देखिन्छ । सुरक्षा व्यवस्था कडा बनाउन उद्योग वाणिज्य संघले प्रहरीसंग निरन्तर संवाद गरिरहेको छ । शान्ति सुरक्षा चुस्तदुरुस्त पारेर सम्पूर्ण स्थानीय व्यवसायीहरुलाई सुरक्षाको अनुभूती प्रहरीले दिलाउनुपर्छ ।
प्रदिप सुवेदी, प्रहरी निरिक्षक इलाका प्रहरी कार्यालय ढल्केवर
युवावर्गहरुमा लकडाउनले बढेको बेरोजगारी र बढ्दो लागुऔषध सेवन गर्न अर्थ जुटाउन पछिल्लो समय चोरीको घटना वृद्धि भएको देखिन्छ । चोरी कार्यमा अधिकांश १६ देखि ३० वर्ष उमेर समुहका युवाहरुको संलग्नता देखिएको छ । पछिल्ला चोरीका घटनाहरुमा अनुसन्धानको क्रममा दर्जन बढिलाई प्रहरीले पक्राउ गरेको छ । त्यसमध्ये ८ जनालाई चोरी कसुरमा मुद्दा चलाइएको छ । चोरीको घटना बढेपछि राति ११ बजेपछि अनावश्यक हिँडडुल गर्नेहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइरहेका छौं । चोरहरु मोटरसाइकलको प्रयोग गर्न थालेपछि मोटरसाइकल चेकजाँचमा समेत कडाई गरेका छौं । शान्ति सुरक्षाका लागि प्रहरी निकै संवेदनशील छ । सुरक्षा व्यवस्था चुस्त बनाउन मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिकासँग समन्वय गरेर नगरभित्र हामीले सिसिटिभी क्यामरा र बत्ति जडान गर्न पहल गरेका छौं ।
तारा कुमारी बस्नेत लामा, उपमेयर मिथिला नगरपालिका ढल्केवर, धनुषा
नगरको शान्ति सुरक्षाप्रति स्थानीय सरकार गम्भिर छ । हामी मौन बसेका छैनौं । शान्ति सुरक्षाको सबालमा स्थानीय प्रशासनसँग हाम्रो निरन्तर समन्वय भइरहेको छ । हामी पनि चिन्तित छौं । सुरक्षाको विषयलाई लिएर सिडिओ सा’बसँग पनि संवाद भएको छ । नगरको शान्ति सुरक्षाको लागि प्रशासनलाई आवश्यक सहयोग गर्न स्थानीय सरकार सदैव तत्पर छ । अपराध नियन्त्रण तथा प्रहरीलाई सहयोगका लागि नगरमा सिसी क्यामरा, जडान गरिएको बत्तिलाई मर्मत सम्भार र नयाँ ठाउँमा ठुलाठुला बत्ति लगाउने योजना पनि बनाएका छौं ।’




