जनकपुरधाम – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै जनकपुर बोल्ट्सका समर्थक समूह बोल्ट्स बटालियनले ‘डट फर डिग्निटी’ (Dot for Dignity) नामक सामाजिक अभियान घोषणा गरेको छ।
यस अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले खेलका क्रममा फाल्ने प्रत्येक डट बलबापत ग्रामीण समुदायका किशोरी तथा महिलालाई सहयोग गर्ने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइनेछ।




क्रिकेटलाई मनोरञ्जन र खेल प्रतिस्पर्धामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले अभियान अघि सारिएको बोल्ट्स बटालियनले जनाएको छ। यस पहलमार्फत महिनावारी स्वच्छता, स्वास्थ्य तथा किशोरी र महिलाको मर्यादित जीवनयापनप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
‘हरेक डट बलको महत्त्व छ, हरेक किशोरी मर्यादित जीवनको हकदार छिन्’ भन्ने सन्देशसहित अघि बढाइएको यस अभियानले क्रिकेटप्रेमीहरूलाई खेलसँगै सामाजिक सेवामा पनि जोड्ने अपेक्षा गरिएको छ।
एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले गर्ने प्रत्येक डट बललाई सामाजिक सहयोगमा रूपान्तरण गर्ने यस पहलले खेलकुद र सामाजिक अभियानबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
अभियानको नारा: Every Dot Ball Matters. Every Girl Deserves Dignity.




