विजयकुमार साह,ढल्केबर – राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने बताउनुभएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीको क्रममा बुधबार जनकपुर आउनुभएकी उहाँले पार्टीका आगामी महाधिवेशनबाट युवा पुस्तालाई नेतृत्वमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य तथा पार्टीको प्रमुख सचेतक रहनुभएकी ओलीले पार्टीका पूर्व अध्यक्ष कमल थापाले लामो समय नेतृत्व गरिसकेको र त्यसपछि राजेन्द्र लिङ्देनले नेतृत्व सम्हाल्नुभएको उल्लेख गर्दै अब पार्टीमा युवापुस्तालाई अवसर दिनुपर्ने धारणा राख्नुभयो ।



पार्टीमा लोकतान्त्रिक अभ्यास रहेकाले नेतृत्वका लागि इच्छुक सबैले प्रतिस्पर्धा गर्न पाउने भए पनि वर्तमान राजनीतिक परिस्थिति र समयको मागलाई बुझेर अग्रज नेताले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ छ ।
ओलीले आफू पनि पार्टीको आगामी महाधिवेशनमा पदाधिकारी तहमा उम्मेदवारी दिने तयारीमा रहेको बताउँदै कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा भने पार्टीभित्र छलफल र परामर्शपछि टुङ्गो लगाउने जानकारी दिनुभयो ।- गोरखा पत्र




