महोत्तरी - निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुका कारण जनजीवन प्रभावित भएपछि महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका छन्। अत्यधिक जाडोले बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पर्न थालेपछि सावधानीका रूपमा पठनपाठन स्थगित गरिएको हो।
स्थानीय तहले जारी गरेका विज्ञप्तिअनुसार नगर तथा गाउँपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक र निजी विद्यालयमा हाललाई दुईदेखि तीन दिनसम्म बिदा दिइएको छ। उक्त बिदा बर्खे बिदाबाट कटौती हुने जनाइएको छ। चिसोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, दमलगायत समस्या देखिन थालेपछि अभिभावकको चासो र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै निर्णय लिइएको स्थानीय तहको भनाइ छ।
तराई–मधेस क्षेत्रमा विगत केही दिनदेखि शीतलहर र चिसो हावाको प्रभाव तीव्र बन्दै गएको छ। बिहान र बेलुकाको समयमा बाक्लो कुहिरो र हुस्सु लाग्दा दृश्यता घट्नुका साथै यातायात, बजार तथा दैनिक गतिविधिमा समेत असर परेको छ। खेतबारीमा काम गर्ने किसान र ज्यालादारी मजदुर अत्यधिक जाडोका कारण समस्यामा परेका छन्।
अत्यधिक जाडोबाट नागरिकलाई राहत दिन औरही नगरपालिका सक्रिय रूपमा खटिएको छ। नगरपालिकाले नगरका मुख्य चौक–चौकदेखि बस्तीका भित्री भागसम्म, नगरभित्रका विभिन्न स्थानमा दाउरा वितरण गर्दै आएको छ। शीतलहर र चिसो हावाबाट सर्वसाधारण, विशेषगरी बालबालिका, वृद्धवृद्धा र विपन्न वर्गलाई आगो ताप्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक जाडोको समयमा न्यानो कपडा प्रयोग गर्न, आगो ताप्दा सतर्कता अपनाउन तथा आवश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तराई क्षेत्रमा चिसो हावा र शीतलहरको प्रभाव कायमै रहने सम्भावना रहेको जनाएको छ।




