
सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्वर २२ बेलीजटियाही टोलमा गोली प्रहारवाट एक युवक घाइते भएका छन् ।
अवैध रुपमा राखेको पेस्तोलबाट १९ वर्षीय सुशान्त चौधरीले गोली चलाउँदा १८ वर्षीय दिलिप मुखिया घाइते भएको प्रहरीले जनाएको छ ।
पेटमा गोली लागेर गम्भीर घाइते भएका मुखियाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गम्भीर घाइते मुखियासहित चौधरी र १५ वर्षीय सुरज मुखिया एउटै घरमा बसिरहेका बेला गोली चलेको हो।
घटनामा संलग्न सुरज र सुशान्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ७.६५ एमएमको पेस्तोल १ थान, कटुवा पेस्तोल १ र ९ राउन्ड गोलीसहितको म्यागजिन १ थान बरामद गरेको छ।