महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको सहज पहुँच र सहभागिता सुनिश्चित गर्ने लक्ष्य
सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले लैङ्गिकमैत्री नीति निर्माण तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाहका लागि १० बुँदे सार्वजनिक प्रतिबद्धता जारी गरेको छ ।

गाउँपालिकाले महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, सहभागिता र सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले प्रतिबद्धता सार्वजनिक गरेको हो ।




नवराजपुर गाउँपालिका, प्रो पब्लिक, निड्स नेपाल र वाईजीपी सुर्खेतको संयुक्त आयोजनामा युरोपेली युनियन र यूएन वुमेनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ अभियानअन्तर्गत लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजनाले विहिवार आयोजना गरेको लैङ्गिकमैत्री नीति निर्माण तथा गुणस्तरीय सार्वजनिक सेवा : सेवाग्राहीको अनुभव विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।

प्रतिबद्धतामा गाउँपालिकाले अपाङ्गतामैत्री, विभेदरहित, सामाजिक न्यायमा आधारित र समतामूलक सार्वजनिक सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने उल्लेख गरेको छ । त्यसका लागि महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा अल्पसङ्ख्यक समुदायको सहज पहुँच सुनिश्चित गर्न अद्यावधिक नागरिक वडापत्र र नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालन गर्ने जनाइएको छ ।

त्यस्तै, लैङ्गिक हिंसा, विभेद तथा यौन दुर्व्यवहारबाट पीडित व्यक्तिको उद्धार, राहत, सुरक्षा, पुनःस्थापना र परामर्श सेवाका लागि आवश्यक नीति निर्माण तथा बजेट विनियोजन गर्ने प्रतिबद्धता गरिएको छ । लैङ्गिक समानता प्रवर्द्धनका लागि समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि प्रतिबद्धतामा उल्लेख छ ।

गाउँपालिकाले योजना तर्जुमा तथा बजेट विनियोजन गर्दा महिला, दलित, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि, आयआर्जन, रोजगारी तथा जनचेतना विकासमा प्राथमिकता दिने जनाएको छ । यसका लागि कम्तीमा पुँजीगत बजेटको ३५ प्रतिशत बजेट लक्षित वर्गको क्षमता तथा आयआर्जन अभिवृद्धि हुने योजनामा विनियोजन गर्ने प्रतिबद्धता गरिएको छ ।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम तथा बजेट (रातो किताब) को विवरण वडास्तरमा कार्यक्रम गरी सार्वजनिक गर्ने र नीति निर्माण प्रक्रियामा महिला, पछाडि पारिएका वर्ग, दलित तथा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।

स्थानीय विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गर्न सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, नागरिक प्रतिवेदनपत्र सर्वेक्षणलगायत सामाजिक जवाफदेहिताका औजार प्रयोग गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिको वास्तविक सङ्ख्या अद्यावधिक गरी आवश्यकताका आधारमा परिचयपत्र वितरणलाई प्रभावकारी बनाउने र राहत सेवा वितरणका लागि कार्ययोजना निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, महिला हिंसा, सामाजिक विभेद र दाइजो प्रथाको अन्त्यका लागि बस्तीस्तरमा लैङ्गिक समानता तथा समावेशीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकालाई स्वच्छ, सफा, हराभरा तथा व्यवस्थित बनाउँदै लैङ्गिकमैत्री, अपाङ्गतामैत्री र बालमैत्री पूर्वाधार निर्माणका लागि आवश्यक ऐन, कानुन, नीति तथा कार्यविधि बनाउने प्रतिबद्धता गरिएको छ ।
युवायुवतीमा बढ्दो लागुऔषधको प्रयोग तथा यसको सामाजिक र पारिवारिक असर न्यूनीकरण गर्न वडा तथा बस्तीस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गाउँपालिकाले व्यक्त गरेको छ ।
सार्वजनिक प्रतिबद्धतामा गाउँपालिका अध्यक्ष शिवउदगार यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, वडा नम्बर ३ का सदस्य सञ्जयकुमार यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अमरनाथ महतो, शिक्षा अधिकृत नवीन नेउपाने र जनस्वास्थ्य अधिकृत सिवाङ्गी यादवसहित सरोकारवालाको सहभागिता रहेको छ ।
प्रतिबद्धताले स्थानीय तहको नीति निर्माण, बजेट विनियोजन र सेवा प्रवाहमा महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता, पहुँच र अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।




