
जनकपुरधाम - मिथिलाञ्चल सहित तराई मधेस क्षेत्रको इतिहास, संस्कृति र लोकगाथासँग जोडिएको ऐतिहासिक लोकनाच लोप हुने अवस्थामा पुगेको छ ।
लोकनाचको परम्परा एवं अभ्यास बन्द भएपछि सम्बद्ध कलाकारहरु पलायन भएका छन् ।
इस्वी सन्को सातौँ र आठाँै शताब्दीदेखि प्रचलनमा आएको मिथिला क्षेत्रका ऐतिहासिक, प्राचीन नाच अल्लाह रुदल, राजा सलहेस, शितवसन्त, रुनान्झुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनको सुन्दर फूल, गुगलीघाट, सांमाचकेवा, कमला मैया जस्ता नाच कलाकारको पलायनसँगै लोप भएको हो ।

त्यसैगरी, जयविषहरा, दुलहा दयालसिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोखामहाजन, महराई कारिक महाराज, आल्हा रुदल, झगडु मलजस्ता ऐतिहासिक नाच पनि लोप भएका छन् ।
दसवर्षको उमेरदेखि नृत्य गर्दै आएका धनुषाको मिथिला नगरपालिका-१० का ४२ वर्षीय पुनित रामले २० जना कलाकारलाई नृत्य सिकाए पनि उनीहरू स्वदेश छाडेर पलायन भएका दुखेसो गरे ।
कलाकारहरू विदेसिने क्रमसँगै नाच कम्पनी पनि बन्द भएका छन् । उनले स्थापना गरेको कम्पनी पनि कलाकारको अभावका कारण बन्द भएको छ ।

ऐतिहासिक नाचका सिडी बजारमा जताततै पाइन थालेकाले पनि नृत्य कम्पनी प्रभावित भएका रामले बताए । उनका अनुसार ऐतिहासिक नाच लोप भएपछि धनुषा जिल्लामा मात्र एकसयभन्दा बढी कम्पनी बन्द भइसकेका छन् ।
विशेषगरी ग्रामीण क्षेत्रमा लोकप्रिय त्यस्ता नृत्य माओवादी द्वन्द्वकालदेखि नै प्रभावित भएका हुन् । आक्कलझुक्कल रूपमा वैवाहिक समारोहमा त्यस्ता नृत्य प्रस्तुत हुने गरेका वटेश्वर गाउँ पालिका -५ का शान्तिपुरका जोगिन्दर महराले बताए । ‘तर लोप हुने जोखिम भने यथावत छ’- उनले भने ।
उनले यस्ता ऐतिहासिक नाचलाई राज्यपक्षबाट संरक्षण, सहयोगका साथै कलाकारलाई प्रोत्साहन हुनुपर्नेमा धारणा व्यक्त गर्दै मिथिला क्षेत्रसँग जोडिएका यस्ता नृत्यलाई निरन्तरता दिन स्थानीय निकाय मार्फत बजेट छुट्याउनुपर्ने माग गरे ।
वर्षौंदेखि जंगली बादशाह कम्पनीमा काम गर्दै आएका महोत्तरीको पोखरभिन्डाका रामप्रसाद पासवानले नाचबाट नै कमाएर परिवारलाई पाल्दै आएका थिए । तर अचेल नाचको माग घटन थालेपछि पासवान अरुको घरमा मजदुरी गरी परिवार पाल्न बाध्य छन् ।
नाच कम्पनीहरू बन्द हुँदा यसमा आवद्ध कलाकारहरू रोजगारीका लागि खाडी तथा छिमेकी मुलुक भारत पलायन भएका छन् । ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका नाचहरू बढ्दो महँगी, सिडिक्यासेटले प्रभावित भएको पासवानले बताए ।
धनुषा हरिहरपुरका ६२ वर्षीय जीवछ पासवान मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको चौधौं शताव्दीका प्रतापी ‘राजा सलहेश को पोसाकमा सजिएर स्टेजमा उत्र्दा दर्शकले प्रतापी राजा सलहेश नै हो भन्न बाध्य हुन्थे र दर्शकले तालीको गुन्जनले स्वागत गर्थे । ३१ वर्षे नाट्य अभिनय यात्रामा दर्शकको स्वागत नै उनको अभिनय यात्राको निरन्तरता थियो । तर अहिले लोक-नाचप्रति दर्शकको रुचि नभएको उनी सुनाउँछन् ।
जीवछ सहित २५ जना आबद्ध मिथिला नाच पार्टीले लोक-नाचहरूमा राजा सलहेशको वणर्न र गीत अनि लोकगाथा मा उनका पराक्रमको वणर्न गरेर दर्शकलाई मन्त्रमुग्ध पार्न सफल थिए। उनको नाच पार्टीले धनुषा, महोत्तरी, सिरहा, सप्तरी, र भारतको विहार लगायत का क्षेत्रमा ‘राजा सलहेस को लोकगाथाको नाटकको माध्यम बाट वणर्न गरिसकेका छन् ।
‘मिथिला संस्कृतिका लोक गाथाका नाचहरूको गाउँघरमा माग छैन, उनले भने, ‘त्यही भएर कलाकारहरू रोजगारीका लागि कतिपय विदेश पलायन भए । उनका अनुसार अहिले पनि सलहेस मिथिला नाच पार्टीमा बाध्य वाधनका सम्पूणर् सामग्री लगायत पोसाक सहित एक लाख बराबरको भौतिक सामग्री छन् । उनको टोलीले एक रात नाटक देखाए बापत ४० देखि ६० हजार रुपैयाँ पाउँथे ।
महिनामा नाटक देखाउन उनको टोली २० दिन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, र भारतको विहारका गाउँगाउँमा व्यस्त हुन्थे। ‘अहिले पनि विवाहको समय तथा चाडबाडका अवसरमा यस्ता नाचहरू खेल्ने गरिन्छ, उनले भने, ‘तर यस्ता लोकप्रिय तथा ऐतिहासिक नाचहरूलाई राज्यपक्षबाट कुनै किसिमको संरक्षण र कालाकारहरूलाई प्रोत्साहन समेत नपाएकाले कामको खोजीमा कालाकारहरू बिदेसिएका छन्।
मिथिला क्षेत्रमा प्रसिद्ध ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको लोक नाचहरु लोप हुन थालेपछि कलाकारहरु रोजगारीको खोजीमा पलायन भएका हुन् ।
पहिला पहिला प्रतिष्ठाका लागि भएपनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोक नाच मञ्चन गराइन्थ्यो । पछिल्लो दुई वर्ष देखिको कोरोना महामारीको कारण भएको लकडाउनले यस्ता कार्यक्रमहरु धरासायी बनायो । अहिले त्यो प्रचलन हराउँदै गएकाले नाच कम्पनीहरु एकपछि अर्को गर्दै बन्द भएको छ।
धनुषाको हरैयाका भरोसी महराले भने, ‘केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच/सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गथ्र्यो, त्यो बेला मिथिला क्षेत्रमा लोक नाच प्रसिद्ध थियो तर अहिले यी मौलिक नाचहरु लोप हुँदै गएको छ ।’
उनको पनि नाच कम्पनीहरु बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकारहरु रोजगारीका लागि मलेसिया, साउदी अरब, कतार लगायतका खाडी मुलुक तथा छिमेकी देश भारत तर्फ पलायन हुन थालेकोे भनाइ छ ।
नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथीहरु रोजगारीका लागि भारतको पञ्जाब र लुधियाना गइसकेको र आफूले पनि भारत तिरै जाने सोच बनाएको धनुषा हरिहरपुरका दिलिप महराले बताए ।
सिडी चक्का र मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोक नाच मञ्चन गर्ने कम्पनीहरु विस्थापित हुन थालेको अनुभव सुनाउने कुनै बेला नाच कम्पनीको जिम्मेवारी बहन गरेका धनुषाको किसानपुरका राम लोचन पासवानले भने, ‘ऐतिहासिक नाचहरु लोप हुन थालेपछि धुनषा जिल्लामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भएको छ ।’
विगतमा ठूलो नाम कमाएका नाच कम्पनीहरु बन्द भएपछि त्यसमा संलग्न करिब पाँचहजार भन्दा बढी कलाकारहरु बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका बताइन्छ ।
मिथिला क्षेत्रका ग्रामीण इलाकाहरुमा लोकप्रिय रहेका यस्ता लोक नाचहरु खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्व, मेलाका बेला गराउने परम्परा रहेकामा पछिल्लो समय करिब दश प्रतिशत जति विवाहको बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोक नाचहरुको माग आउने गरेको महोत्तरीको समिरदहीका रामजिवन सदाले बताए । वर्षमा एक/दुई पटक मात्र लोक नाच हुने गरेकाले कलाकारहरु रोजगारीको खोजीमा पलायन भएको उनको भनाइ छ ।
ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाचहरु लोप हुन लागेकामा संस्कृतिविद्हरु समेत चिन्तित बनेका छन् ।
संस्कृतिविद् पूर्व प्राध्यापक योगेन्द्र मण्डलले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरको रुपमा रहिआएका लोकनाचहरु लोप हुनु दुखद भएको बताए । उनले यस्ता लोक नाचहरुको संरक्षणमा सरकारको तर्फबाट उचित कदम चालिनुपर्ने धारणा व्यक्त गरे ।
मिथिला क्षेत्रसँग जोडिएको ठाउँहरुमा पल्लवित र पुष्पित यस्ता लोक नाचको संरक्षण र सम्बद्र्धनमा ध्यान नदिइए मिथिला संस्कृतिहरु हराउँदै जाने भएकाले सरकारले स्थानीय निकाय मार्फत बजेटको व्यवस्था गरिदिन कलाकारहरुले माग गरेका छन् ।