महोत्तरी – गौशाला नगर क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आन्दोलन चर्किएको छ ।
गौशाला नगरपालिका कार्यालय तथा गाई गौशाला व्यवस्थापन कार्यालयविरुद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीहरूले संविधानले सुनिश्चित गरेको भूमिसम्बन्धी अधिकार कार्यान्वयन गर्न माग गरेका छन् आन्दोलनकारीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न तथा डोजर प्रयोग गरेर हटाउने कार्य रोक्न आग्रह गरेका छन् ।

“डोजर आतंक बन्द गर, लालपुर्जा वितरण गर” भन्ने नारासहित भएको प्रदर्शन गौशाला नागरिक समाज तथा अव्यवस्थित बसोबासी संघर्ष समितिको आयोजनामा गरिएको जनाइएको छ । आन्दोलनमा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।




गौशाला नगरपालिका–४ का रन्जित साह कनोजियाले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको स्थानमा अहिले आएर हटाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारको व्यवहारप्रति आपत्ति जनाउँदै समस्या समाधानका लागि तत्काल पहल आवश्यक रहेको बताउनुभयो ।

पीडित विकास साहले घर भत्काइने हल्लाका कारण स्थानीयमा त्रास फैलिएको बताउनुभयो । उहाँले तनावका कारण आफ्ना बुबाको एक साताअघि निधन भएको दाबी गर्दै सम्बन्धित निकायलाई मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो ।स्थानीय जगदीश साहले पुस्तौंदेखि बसोबास गर्दै आएका नागरिकलाई अहिले आएर अवैध भन्नु उचित नभएको बताउनुभयो ।

राज्यले कर लिने बेला नागरिक सम्झिने तर अधिकार दिने बेला बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।नेकपा (माओवादी केन्द्र) का नेता विष्णु लामाले नगरपालिकाले ११५ नम्बर कित्तामा मात्र डोजर चलाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले अन्य स्थानमा पनि एलानी जग्गा रहेको उल्लेख गर्दै एउटै मापदण्डका आधारमा निर्णय हुनुपर्ने धारणा राख्नुभयो ।नेपाली कांग्रेसकी महिला नेत्री बसन्ती अर्यालले गाई गौशाला व्यवस्थापन कार्यालय र नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले केही वर्षअघि खाली गराइएको स्थानमा पुनः पक्की घर निर्माण भएको उल्लेख गर्दै त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । गरिब तथा सुकुम्बासीमाथि मात्र कडा व्यवहार गर्नु उचित नभएको उहाँको भनाइ थियो ।

गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले ११५ नम्बर कित्तामा तत्कालीन गाविसले बिटौरी काटेर बसोबास गराएको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा कतिपय परिवार ६० देखि ७० वर्षदेखि बसोबास गर्दै आएका छन् । लामो समयदेखि बस्दै आएका नागरिकलाई हटाउनेभन्दा लालपुर्जा वितरणतर्फ राज्यले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।उहाँले गाई गौशाला व्यवस्थापन कार्यालयले समेत आफ्नो जग्गा खाली गराउन खोजिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । केही वर्षअघि खाली गराइएको स्थानमा पुनः पक्की घर निर्माण भएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुपर्ने उहाँको भनाइ थियो ।
आन्दोलनकारीहरूले समस्या समाधानका लागि सम्बन्धित निकायसँग तत्काल वार्ता, स्पष्ट नीति तथा मानवीय व्यवहार अपनाउन माग गरेका छन् ।















