सुजाता राई
काठमाडौं, । आधुनिक साहित्य परिषद्, काठमाडौंले २१३औँ भानुजयन्तीको अवसरमा साहित्यकार छवि वैरागी घिमिरेलाई ‘आधुनिक साहित्य रत्न’ पदक तथा सम्मान अर्पण गरेको छ। परिषद्को नियमित मासिक साहित्यिक कार्यक्रमसमेत भानुजयन्तीकै अवसरमा भव्य रूपमा सम्पन्न भयो।
परिषद्का अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्वमा आयोजित कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथि तथा अनुसन्धाता एवं साहित्यकार लोकमणि उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी बने। साहित्यकार चन्द्रा न्यौपाने, शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष ईश्वरकृष्णबहादुर के.सी. सापकोटा, ‘आगो’ विधाका परिकल्पनाकार दीर्घबहादुर चन्द, ‘उतार’ विधाका प्रवर्तक टङ्कबहादुर खत्री, गोंगबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेल, षड्ऋतु काव्य समाजकी अध्यक्ष डा. सीता विष्ट कार्की लगायतका दर्जनौँ साहित्यकारको उपस्थिति रहेको थियो।
सो अवसरमा साहित्यकार तथा कलाकार पार्वती रिमालको जन्मदिनसमेत मनाइयो। कार्यक्रमको प्रारम्भमा सुखशान्ति मिडियाका प्रबन्धक दामोदर ढकालले अतिथि तथा सहभागीलाई स्वागत गरे।
सम्मानित स्रष्टा छवि वैरागी घिमिरेका रचनामाथि सरस्वती अर्याल, उमा विडारी र कृष्णप्रसाद पौडेल जस्ताघरेले समीक्षा प्रस्तुत गरे। लोकमणि उपाध्यायले सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वका साथै राम, रामायण र अयोध्या सम्बन्धी विचार राखे।
प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषाका अमर स्रष्टा भएको उल्लेख गर्दै स्रष्टाहरू आफ्ना कृतिमार्फत सधैं जीवित रहने धारणा राखे। उनले छवि वैरागी घिमिरेलाई ‘आधुनिक साहित्य रत्न’ सम्मान प्रदान गर्नु परिषद्को प्रशंसनीय कार्य भएको बताए।
सभापति मुरलीप्रसाद ढकालले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा छवि वैरागी घिमिरेलाई सम्मान अर्पण गर्न पाउँदा संस्था गौरवान्वित भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा विभिन्न स्रष्टाले आ–आफ्ना रचना वाचन गरे। चार घण्टासम्म सञ्चालन भएको कार्यक्रमको सहजीकरण ध्रुव गजुरेलले गरेका थिए।








