धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको १५औँ नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँ बराबरको आय–व्यय अनुमान (बजेट) प्रस्तुत गरिएको छ।
उपमहानगरपालिकाका ज्येष्ठ वडा नं. १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले नगरसभामा प्रस्तुत गर्नुभएको बजेटअनुसार चालु खर्चतर्फ एक अर्ब ४२ करोड ७७ लाख नौ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ एक अर्ब २२ करोड २२ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ।



बजेटमा आर्थिक विकासतर्फ पाँच करोड ९४ लाख ५४ हजार ४०८ रुपैयाँ, सामाजिक विकासतर्फ ८३ करोड २८ लाख ९८ हजार ७६२ रुपैयाँ, पूर्वाधार विकासतर्फ ९१ करोड २२ लाख ७८ हजार ८३० रुपैयाँ तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रका लागि ३१ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरप्रमुख मनोजकुमार साहका अनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५३ करोड रुपैयाँ छुट्याइएको छ।
यसअघि नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख साहले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा “स्वच्छ, सुशासित, समृद्ध, पर्यटकीय तथा सांस्कृतिक जनकपुरधाम” निर्माण गर्ने दीर्घकालीन लक्ष्यलाई प्राथमिकतामा राखिएको छ।
नीति तथा कार्यक्रममा जनकपुरधामलाई सफा, स्वच्छ र आकर्षक नगरका रूपमा विकास गर्न पर्यटकीय पूर्वाधार विस्तारमा विशेष जोड दिइएको छ। साथै, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने तयारीस्वरूप संरक्षित क्षेत्रको नक्साङ्कन सम्पन्न भएको उल्लेख गर्दै पुरातत्त्व विभागसँगको समन्वयमा संरक्षणसम्बन्धी कार्यलाई अघि बढाइने जनाइएको छ।
यसका अतिरिक्त जनकपुरधामका ऐतिहासिक मठमन्दिर, पोखरी तथा दुग्धमती नदीलगायत सांस्कृतिक एवं धार्मिक महत्वका सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई पनि नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखिएको छ।
नगरसभाको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य राकेश विक्रम साहले वर्तमान जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा पुगेकाले जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी विकास र सेवा प्रवाहमा प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो।




