महोत्तरी- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेर झन्डा हल्लाउने मात्र काम नभएको बताएका छन् । पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमानदारिताका साथ नलाग्दा जनताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ । शनिवार महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा नम्बर ८ भवनको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनताको समस्यामा नेता समेत इमानदारी नभएको आरोप लगाए ।
अब कुरा गर्ने दिनको अन्त्य भएको बताउँदै उनले जनतालाई जनप्रतिनिधि र नेताहरूले काम गरेर नतिजा देखाउने समय आएकोप्रति सजग गराए । मिटरब्याजी पीडितहरूको समस्यालाई सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भने– ‘काइते कुरा गरेर कुनै पनि प्रहरीले पीडितलाई थप पीडा दिएको छ भने हामीलाई उजुरी दिनुस् हामी कारबाही गर्न तयार छौ ।’
मिटरब्याजी पीडितका लागि जनप्रतिनिधिहरूले एजेन्डा बनाउन नसकेकोप्रति पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे । गृहमन्त्री श्रेष्ठले मधेसमा आउँदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उनले भने– ‘मधेसका श्रमिकहरूले जहिले पनि राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको लागि आवाज उठाउने गर्दछन् ।’