जनकपुरधाम- नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको क्रममा बाँकी रहेका मधेश प्रदेशका धनुषा, रौतहट र सिरहामा सोमवार मतदान सम्पन्न भएको छ ।
सर्लाही जिल्लामा मतदानको प्रक्रियामा विवाद भएपछि मतदान स्थगित भएको छ भने सप्तरी जिल्लामा आज मंगलवार र बारा जिल्लामा भोली बुधवार मतदान हुने सहमति भएको छ ।
यता नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनमा २ हजार ९१२ मत खसेको छ । कुल ३ हजार १७३ मतदाता रहेकोमा २६१ मत कम खसेको हो ।
सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना आज विहान १० को छलफल पश्चात सुरु गर्ने तयारी रहेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।
काग्रेस धनुषा सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
अन्य जिल्लाहरुमा २ समूह मात्र देखिए पनि धनुषामा ३ समूहबाट उम्मेदवारी परेकाले चुनावमा त्रिकोणात्मक प्रतिस्पर्धा भएको छ ।सभापतिमा संस्थापन पक्षबाट सन्तोष यादव, विमलेन्द्र निधि समूहबाट योगेन्द्र पजियार र डा.शेखर कोइराला समूहबाट दिनेश प्रसैला यादव उम्मेदवार रहेका छन् ।
पहिलो चरणमा तीनै जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउने संभावना नरहेको आंकलन गरिएको छ। सभापतिका उम्मेदवार पजियारको पक्षमा निर्वाचन क्षेत्र नम्बर ३ अत्यधिक राम्रो रहेको बताइन्छ। क्षेत्र नम्बर २ मा प्रसैला बलियो रहने अनुमान गरिएको छ ।यादवको मत क्षेत्र नम्बर १ मा बढी भएको अनुमान गरिएको छ ।
धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
त्यसैगरी रौतहटमा सभापति सहित कूल ९१ पदका लागि भएको मतदानमा २ हजार ५ सय १८ जनाले भाग लिएको निर्वाचन अधिकृत दिपकराज रेग्मीले बताएका छन् । कूल २ हजार ५ सय ९१ जना मतदाता रहेका थिए । रौतहटमा सभापतिका लागि दुई जना उम्मेदवारबीच सोझो प्रतिस्पर्धा भएकाले अर्को पटक मतदान गर्ने अवस्था आउने संभावना न्यून रहेको बताइएको छ । संस्थापन पक्षबाट सभापतिमा सुनिल कुमार यादव ‘जितेन्द्र’ र संस्थापन इतरपक्षबाट ह्दयनारायण यादव रहेका छन् ।दुबै पक्षले सबै पदमा उम्मेदवार उठाएका छन् ।
त्यस्तै सिरहामा जिल्लामा आइतवार अबेर सम्म स्थानको विवाद जारी रहे पनि ढिलो गरी सहमति भएपछि सोमवार गोलबजारमा मतदान भएको छ । सिरहामा सभापतिका लागि संस्थापन पक्षबाट उम्मेदवार रहेका वर्तमान सभापति रामचन्द्र यादवले मतदानमा धाँधली गरेको आरोप संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार रामसुन्दर चौधरीले लगाएका छन् । यादवको चाहना अनुसार गोलबजारमा मतदान गराइएको र त्यसमा ब्यापक धाँधली गरिएको आरोप चौधरी पक्षको छ ।
सभापतिमा यादव र चौधरीबीच सोझो प्रतिस्पर्धा रहेकाले दोस्रो चरणमा मतदान गर्नुपर्ने अवस्था रहेको छैन् । स्रोतका अनुसार संस्थापन पक्षका उम्मेदवार यादवको पुरै प्यानल विजयी हुनेछ ।कूल २हजार ६ सय ६२ मतदाता मध्ये २ हजार ३ सय मत खसेको बताइएको छ । सिरहामा दुवै पक्ष बीच झडप भई लाठी चार्ज समेत प्रहार गरिएको र चौधरी पक्षले अन्तिम चरणको मतदान नै बहिष्कार गरेको बुझिएको छ ।
त्यस्तै बारा जिल्लामा २५ गते बुधवार मतदान गर्नेमा सहमति जुटेको छ । सभापतिका ३ जना प्रत्याशी रहेका छन् ।
सप्तरीमा बुधवार हुने निर्वाचनमा सत्रुधन प्रसाद यादव संस्थापन पक्षबाट र रामदेव साह संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार रहेका छन् ।