जनकपुरधाम - हत्याको आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।
सडक विस्तारका क्रममा भएको विवादमा सबैला नगरपालिका वडा नम्बर ४ का स्थानीय सुमित्रा देवी यादवको कुटपिट गरी हत्या भएको घटनाको आरोपमा सोही वडाका वडा अध्यक्ष पथला भनेर चिनिने कुशेश्वर ठाकुरलाई ईलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो।
धनुषाको सवैला नगरपालिका-४ मा ०७७ वैशाख २३ गते सडक विस्तारको क्रममा भएको झडपमा सुमित्रा देवी यादवको मृत्यु भएको घटनाकोे आरोपमा वडाध्यक्ष पक्राउ परेका हुन् ।
गाउँमा सडक बिस्तारको क्रममा बिबादमा हुँदा भएको दोहोरो झडप घटनामा परेर गम्भिर घाइते सुमित्रा देवी यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।
दोहोरो झडपमा रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादव समेत गम्भीर घाइते भएका थिए । घाइते यादवको मृत्यु भएपछि मृतकका परिवारजनले वडाध्यक्ष सहित १० जना बिरुद्ध कर्तव्य ज्यान मार्ने उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालय मोरंगमा जाहेरी दिएका थिए । मोरंग प्रहरीले लिएको जाहेरी इलाका प्रहरी कार्यालय सवैलालाई जेठ १६ मा पठाएका थिए ।
पक्राउ परेका वडाध्यक्ष ठाकुरको छोरा पुरन शर्माले झडपमा बुवाको संलग्नता नरहेको भएपनि दिएको जाहेरी र घटना अनुसन्धान गर्न सहज होस् भन्ने हिसावले आफैले सरकारी वकिल मार्फत गिरफ्तारी दिएको प्रतिक्रिया दिएका छन् ।
वडाध्यक्ष ठाकुरलाई सात दिने म्याद थप गरि अनुसन्धान भइ रहेको इप्रका सवैलाका इन्स्पेक्टर राजेश सिंग्देलले बताए ।