महोत्तरी – केही दिनअघि सम्म आकाश सुकेको थियो, किसानको आँखामा चिन्ताको बादल मात्र मडारिएको थियो। बाली सुक्ने डर, पेटको पीडा, ऋणको भारी-सबैले उनीहरूको मन भारी बनाइरहेको थियो। अब आएर आकाश खुल्यो, वर्षा सुरु भयो, किसानको अनुहारमा मुस्कान पनि आयो। तर त्यो मुस्कान लामो समय टिक्न सकेन। पानी परेको छ, तर खेतमा पानी जम्दैन। माटो भिज्छ, बाली हरियो हुन्छ, तर माटोले पानी रोक्न सकेको छैन। खेतले तिर्खा मेटाउन अझै वर्षाको भरोसा गरिरहेको छ। यसैबीच अर्को घाउ-मलखाद। समयमा नपाइने यो मल किसानको लागि सुन बराबर हो।
तर बजारमा छैन, वा छ भने महँगो। नेताहरू लागि किसानको पीडा कुनै शीर्ष समाचार होइन, केवल भाषणको विषय हो। एक किसानको पीडायुक्त शब्दहरू हृदय चिर्छन्-“यहाँका नेताहरू हेलिकप्टर चढेर आउँछन्, माथिबाट हरिया खेत हेर्छन्, अनि कार्यक्रम स्थलमा ठूला–ठूला भाषण गर्छन्। तर त्यो हेलिकप्टरको भाडा र कार्यक्रमको खर्च किसानको हातमा पुगेको भए, हाम्रो खेत हरियाली मात्र होइन, अन्नले भरिन्थ्यो।” हामी जनतामा पनि दोष कम छैन।



जहाँ ठूलो मान्छे आयो, हामी भीड भइदिन्छौं। नेताको भाषण सुन्न कुद्छौं, तर आफ्नो खेतमा पानी छैन, मल छैन, त्यो बिर्सन्छौं। भोट माग्दा नेताहरू गाउँ पसेर हात मिलाउँछन्, तर भोट पाएपछि त्यो बाटो कहिल्यै समाउँदैनन्। फर्केर आए भने पनि ठूला बडालाई भेट्छन्, किसान र गरिबको घरसम्म कहिल्यै पुग्दैनन्। त्यसैले त्यो किसानको अन्तिम वाक्य अझ गहिरो लाग्छ-“म किसान हुँ, खेतमै रमाउँछु। नेताको भाषणले पेट भरिँदैन।




