बर्दिबास – नेपाल वन प्राविधिक संघ, मधेश प्रदेश कार्य समितिले महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा वन अतिक्रमण नियन्त्रण अभियानका क्रममा वन कर्मचारीमाथि भएको आक्रमण तथा सरकारी गाडीमा आगजनी गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डिभिजन वन कार्यालय महोत्तरीद्वारा सञ्चालन गरिएको वन अतिक्रमण नियन्त्रण अभियानका क्रममा सरकारी वन क्षेत्र अतिक्रमण गरी बसोबास तथा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूलाई सामान्य सूचना दिन पुगेका वन कर्मचारीमाथि आक्रमण हुनु अत्यन्त दुःखद र निन्दनीय भएको जनाएको हो ।



विज्ञप्तिमा वन कार्यालयको सरकारी गाडीमा आगजनी गर्नु, कर्मचारीलाई ज्यान मार्ने धम्की दिनु तथा वन संरक्षण अभियानलाई हिंसात्मक ढंगले अवरोध गर्नु राज्यको कानुन र प्राकृतिक सम्पत्तिमाथिको संगठित हमला भएको उल्लेख गरिएको छ ।
संघले वन, चुरे तथा प्राकृतिक स्रोत संरक्षण राष्ट्रको वातावरणीय सुरक्षा, जैविक विविधता र भावी पुस्ताको अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता गतिविधि कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
त्यस्तै, वास्तविक भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकको अधिकारप्रति आफूहरू संवेदनशील रहेको जनाउँदै संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ । तर केही स्वार्थ समूह, भू–माफिया तथा वन अतिक्रमणकारीहरूले भूमिहीनको नाममा वन अतिक्रमण र प्राकृतिक स्रोत दोहन गरिरहेको आरोप पनि संघले लगाएको छ ।
संघले घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी निष्पक्ष छानबिनसहित कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै वन कर्मचारीको सुरक्षा सुनिश्चित गर्न र वन अतिक्रमण नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।






