
जनकपुरधाम - मधेश प्रदेशस्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता शुक्रबारदेखि राजधानी जनकपुरधाममा सुरु भएको छ ।
खेलकूद तथा समाजकल्याण मन्त्री सुरिता कुमारी साहले राष्ट्रिय प्रशिक्षक भरत यादवलाई भलिवल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।मन्त्री साहले मधेश प्रदेशमा खेलकूदको विकासको लागि सरकार प्रतिबद्ध रहेको बताइन् । खेल र खेलाडीलाई अघि बढाउन प्रदेश सरकारले केही दिनभित्रै खेलकूद सम्बन्धी विधेयक ल्याउने प्रतिबद्धता समेत जनाइन् ।
उनले मधेश प्रदेशमा खेल र खेलाडीको विकासमा सरकार ठोस नीति बनाएर अघि बढ्नलागेको जानकारी दिइन् ।
खेलकूद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयालको सभापतित्वमा भएको उद्घाटन सत्रमा प्रदेशसभा सदस्य रामअशिष यादवले खेलाडी र प्रशिक्षकलाई व्यस्त राख्नुपर्नेमा जोड दिए ।

प्रदेशका सामुदायिक विद्यालयहरुमा प्रशिक्षक नियुक्त गरेर खेलकूदको गतिविधि अघि बढाउनुपर्नेमा उनले जोड दिए । खेलाडी र प्रशिक्षकलाई खेलमा व्यस्त राखेरै खेलकूदको विकास गर्न सकिने तर्क यादवको थियो । यसले खेलाडीलाई खेलप्रति थप समर्पित भएर खेल्न प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे । नेपाल कराँते संघले देशैभर रहेको ३६ हजार सामुदायिक विद्यालयमा कराँते प्रशिक्षक नियुक्तीको लागि राष्ट्रिय खेलकूद परिषद्मा माग गरिरहँदा प्रशिक्षकहरुले पनि प्रदेशमा सामुदायिक विद्यालयमा प्रशिक्षक नियुक्तीको माग गरे ।नेपाल कराँते संघ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरले प्रदेशका सामुदायिक विद्यालयहरुमा करार सेवामा भएपनि कराँते प्रशिक्षक नियुक्त गर्नुपर्ने माग गरे ।‘खेलकूद विकासको सुरुवात विद्यालयबाटै गर्नुपर्छ’, उनले भने ‘यसको लागि सामुदायिक विद्यालयमा प्रशिक्षक नियुक्त हुनुपर्छ ।’
प्रशिक्षक नियुक्त हुँदा रोजगारी पाउनका साथै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने तर्क उनले गरे ।सो अवसरमा भलिवलका राष्ट्रिय प्रशिक्षक भरत यादवले खेलकूदलाई प्राथमिकतामा राखेर अघि बढ्न प्रदेश सरकारलाई आग्रह गरे । ‘शिक्षालाई मानिसमा बौद्धिकताको विकास गर्छ भने खेलले अनुशासनको । त्यसैले खेलको विकास पनि शिक्षासँगै अघि बढाउनुपर्छ’ उनले भने ।बैशाख २ गतेसम्म चल्ने प्रदेशस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा आठै जिल्लाबाट खेलाडी र अफिसियलसहित करिब आठ सय ५० जनाको सहभागिता रहेको अजित मिश्रले जानकारी दिए । भलिवल, कराँते, उसु, ताइक्वान्दो, एथलेटिक्ससहितका खेलमा ४ सय ८ पदकको लागि प्रतिस्पर्धा हुने भएको छ