विराटनगर । राष्ट्रसेवक सहकारी संस्था लिमिटेड विराटनगरको आयोजनामा नियमित मासिक साहित्य सिर्जना तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार राष्ट्रसेवक सहकारी (रासेस) भवनमा आयोजित कार्यक्रममा अग्रज कवि तथा साहित्यकार मधु पोखरेलको समालोचना संग्रह ‘सुलेख–यात्रा’ लोकार्पण गरिएको हो।
५० जनाभन्दा बढी स्रष्टाको सहभागिता रहेको कार्यक्रममा २४ जना स्रष्टाले आ–आफ्ना साहित्यिक रचना वाचन गरेर सुनाए । लोकार्पित कृतिमाथि साहित्यकार तथा समीक्षक निर्मला कोइरालाले समीक्षा प्रस्तुत गरेकी थिइन्।




कार्यक्रममा प्रा.डा. हरिहर भण्डारी, प्रा. कविराज न्यौपाने, स्रष्टा दिनेश सुवेदी, प्राज्ञ गङ्गा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा.डा. खगेन्द्र आचार्य, साहित्यकार भीमेन्द्रबहादुर कार्की, प्रा.डा. मिनराज ढकाल, प्राध्यापक एकराज भट्टराई, साहित्यकार हरिप्रसाद बराल, कवि गण्डकी पुत्र, निर्मला नेपाल र बद्रीप्रसाद भिखारीलगायतले कृतिका विविध पक्षमाथि विचार राख्दै सर्जक पोखरेललाई बधाई तथा शुभकामना दिएका थिए।
सर्जक पोखरेलले पनि आफ्नो कृतिको लेखन, विषयवस्तु र सन्दर्भबारे विचार व्यक्त गरेका हुने ।
कार्यक्रममा रचना वाचन गर्ने स्रष्टामध्ये गोलाप्रथाबाट छनोट भएका कवि डेगप्रसाद पौडेललाई नगद एक हजार एक सय रुपैयाँसहितको नगेन्द्रमणि–बिन्द्या न्यौपाने पुरस्कार प्रदान गरिएको थियो।
प्रा.डा. खगेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संगम अभियान साहित्यिक मासिक पत्रिकाका प्रधानसम्पादक रामबाबु दाहालले गरेका थिए। कार्यक्रम सञ्चालन भीम कोइरालाले गरेका थिए।





