अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उम्मेदवारी घोषणासँगै नेकपा (एमाले) एघारौं महाधिवेशनको ध्रुवीकरण, शक्ति–संघर्ष र नेतृत्व प्रतिस्पर्धाको चित्र प्रस्ट भएको छ । अब एमालेपंक्ति स्पष्ट दुई गुटमा विभक्त भई प्रतिस्पर्धामा होमिने निश्चित छ ।
स्मरणीय छ – पोखरेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अघि सारेका उम्मेदवार हुन् । एमाले एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति भण्डारी आफैँ प्रतिस्पर्धा गर्ने योजनामा थिइन् । तर, अध्यक्ष ओलीले भण्डारीको सदस्यता नै स्वीकार नगरेपछि उनी पोखरेललाई अघि सार्न बाध्य भइन् । पार्टी सदस्य नै नरहेकी भण्डारी महाधिवेशन प्रतिनिधि र अध्यक्षको उम्मेदवार हुन वञ्चित भइन् ।
महाधिवेशनमा औपचारिक सहभागिता जनाउन नपाए पनि भण्डारीले भित्रभित्रै पोखरेललाई सम्भव सबै सहयोग गर्नेछिन् । भण्डारीले ‘नेतृत्वले अनुचित तवरले सदस्यता अस्वीकार गरे पनि आफू एमाले परिवारको सदस्य रहेको’ बताइसकेकी छन् । अब पोखरेलको पक्षमा आफ्नो राजनीतिक भविष्य र प्रतिष्ठाको दाउ लगाउनु भण्डारीको स्वाभाविक कदम हो ।
दशौँ महाधिवेशनजस्तै एघारौंमा पनि एकछत्र गर्ने ओलीको सोचमा पोखरेलको उम्मेदवारी घोषणाले ‘ब्रेक’ लागेको छ । ओलीले भन्ने गरेका थिए–‘यसपटक महाधिवेशन छोटो हुन्छ, मैले निर्देशनात्मक मन्तव्य दिएपछि महाधिवेशन सकिन्छ ।’ तर, ओलीले सोचेजस्तो नहुने भएको छ । ओलीपक्षमाथि बिस्तारै दबाब, चुनौती बढ्दै गएको छ । महाधिवेशन प्रतिनिधि छनोटपछि प्रतिस्पर्धाको चित्र अझ बढी स्पष्ट हुनेछ ।
दशौँ महाधिवेशनमा ओलीका प्रतिस्पर्धी भीम रावल थिए । उनी तुलनात्मक रूपमा कमजोर उम्मेदवार मानिन्थे । तर, पनि रावलले नेतृत्वको निर्वाचन बिनै स्वघोषणाबाट अध्यक्ष हुने ओलीको प्रयासलाई अवरोध गर्दै चुनाव गराउन बाध्य पारेका थिए । दशौँ महाधिवेशनमा भीम रावल समूहभन्दा पोखरेल समूह बलियो हुनेछ । निर्वाचन बिनै स्वघोषणाबाट अध्यक्ष हुन ओलीलाई सजिलो हुने छैन । सायद महाधिवेशन ओलीपक्षले सोचजस्तो सहज हुने छैन ।
पोखरेलको घोषणासँगै महाधिवेशन प्रतिनिधि छनोट तथा निर्वाचन प्रक्रिया प्रभावित हुनेछ । महाधिवेशन प्रतिनिधि तलैबाट गुटबन्दीका आधारमा प्रतिस्पर्धा गरी निर्वाचित हुन सक्नेछन् । जिल्लाजिल्लामा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु भइसकेको छ । कतिपय जिल्लामा दुई गुटबीच झडप भएको खबर छ । अहिलेसम्म पोखरेल समूहलाई अध्यक्ष ओलीपक्षसामु फितलो हुन सक्ने आँकिएको छ । तर, पूर्वराष्ट्रपति भण्डारीको प्रतिष्ठासमेत जोडिएको र जेन जी विद्रोहपछि ओलीको लोकप्रियता र स्वीकार्यता हिजोको जस्तो नरहेको स्थितिमा विद्या–ईश्वर समूह सोचेजस्तो कमजोर नहुन सक्दछ ।
मंसिर २७, २८, २९ गते काठमाडौंमा एघारौं महाधिवेशन हुँदै छ । उद्घाटन सभा भक्तपुरको सल्लाघारी र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने निर्णय भइसकेको छ ।
ओलीपक्षको धम्की
केहीअघि पार्टी सचिवालय बैठकमा अध्यक्ष ओलीले पोखरेललाई घुमाउरो भाषामा ‘अर्को माधव नेपाल र भीम रावल बनाई दिने’ धम्की दिएको समाचार बाहिरिएको थियो । जेन जी आन्दोलनले राज्यसत्ताबाट अपदस्थ हुनु परेको पीडाबीच पार्टीभित्रै चुनौतीको सामना गर्नुपर्दा ओलीपक्ष आक्रोशित हुँदै गएको छ ।
ओलीका मुख्य सहयोगी महेश बस्नेतले धम्कीको भाषा बोलेका छन् । बस्नेतले फेसबुकमा लेखेका छन् – ‘यदि योगदान गर्न सकिन्छ भने नि:शर्त एकता, सकिँदैन भने सहर्ष बिदाइ नै ईश्वर पोखरेलको निमित्त सही विकल्प हो ।’
ओलीपक्षको दबाब र धम्कीबीच पोखरेलका केही ‘स्ट्रेन्थ’ छन् । विद्या–पोखरेल समूहलाई पूरै पाखा लगाउने प्रयास भए चुनावको मुखमा एमाले फेरि फुट्न सक्दछ । यो मनोवैज्ञानिक भयले ओलीपक्षलाई चाहेजति आक्रामक हुन दिँदैन ।
एमाले बाहेकका कम्युनिस्ट घटकको ‘नेपाली कम्युनिस्ट पार्टी’ संगठित र एकीकृत हुँदै गएका बेला विद्या भण्डारी–ईश्वर पोखरेल समूह पनि प्रकारान्तले त्यही पुग्नुपर्ने स्थिति सिर्जना गर्नु ओलीपक्षका लागि हितकार हुँदैन । कम्युनिस्ट पार्टीको फुट, विभाजन, अहं र प्रतिशोधको इतिहास हेर्दा यो असम्भव कुरा होइन ।
पोखरेलको लामो पार्टी जीवन
पोखरेल माले–एमाले धारको निर्माणमा २०३० को दशकदेखि महत्त्वपूर्ण भूमिका निभाउँदै आएका ‘अर्गानिक नेता’ हुन् । एमालेमा यसलाई ‘कोअर्डिनेसन केन्द्र काल’ भनिन्छ । पञ्चायती व्यवस्थामा पार्टी भूमिगत भएदेखि पार्टीको संगठनात्मक जग बसाउँन योगदान गरेका नेता हुँदा पोखरेललाई कम आँक्न ओलीलाई गाह्रो पर्नेछ ।
पोखरेल आठौँ र नवौँ महाधिवेशनमा दुईपटक महासचिव निर्वाचित भइसेको हुँदा संगठनात्मक ज्ञान र पहुँच छ । एमाले ‘र्याक एण्ड फायल’ मा पोखरेल राम्रैसँग परिचित र स्थापित छन् । कार्यकर्ता सिधा सम्पर्क स्थापित गर्न सक्दछ ।
पोखरेल अध्यक्ष ओलीजस्तो समानान्तर गुटबन्दीबाट नभएर मूलधारबाट उदाएका नेता हुन् । यदाकदा पोखरेलले भन्ने गर्छन्–‘म जहाँ उभिन्छु, त्यही संस्थापन हुन्छ ।’ यसपटक उनी आफैँ संस्थापनपक्षको मूल नेता बन्नुपर्ने दबाब र अवसरबीच छन् ।
नभन्दै यसअघि त्यस्तै हुँदै आएको थियो । अहिलेसम्म पोखरेल कहिल्यै अल्पमतपक्षमा रहेनन् । २०३५ सालमा पार्टी स्थापना भएयता जो पार्टी महासचिव वा अध्यक्ष भयो, पोखरेलले उसैको नजिक भए काम गरे । ओली समूह संस्थापन बन्नुअघि नै पोखरेलले माधव नेपाल र झलनाथ खनाललाई छोडेका थिए ।
ओलीका थिएनन् ईश्वर
२०६५ मा आयोजित आठौँ महाधिवेशनसम्म ईश्वर पोखरेल केपी शर्मा ओलीको पक्षमा थिएनन् । उनी झलनाथ खनालको प्यनालबाट उठेर पहिलोपटक महासचिव निर्वाचित भएका थिए । तर, मदन भण्डारी र माधव नेपाल नेतृत्वकालमा ओली र पोखरेल एउटै गुटका मानिन्थे ।
२०७१ को नवौं महाधिवेशनमा भने उनी ओलीतिरै लागे । नवौं महाधिवेशनमा ओलीको उदयका तीन करणमध्ये एक पोखरेल थिए । ओलीसँग त्यसअघि खासै नमिल्ने, त्यसपछिका दिनमा सिन राम्रो मिल्न नसकेका पोखरेल, वामदेव गौतम र झलनाथ खनालको साथ नपाएको भए सम्भवत: ओलीले नवौं महाधिवेशनमा अध्यक्ष जित्ने थिएनन् । ओलीले माधव नेपाललाई झिनो अन्तरले मात्र हराएका थिए । यही नै ओलीको उदयको मुख्य बिन्दु बन्यो ।
नवौँ महाधिवेशनदेखि विद्या भण्डारीको नयाँ गुट खडा नहुञ्जेलसम्म भने पोखरेल ओली गुटतिरै बसे । अब पोखरेल आफ्नो भनाइको सत्यता पुष्टि गर्ने सबैभन्दा जटिल क्षणमा आइपुगेको छन् । विद्या गुटलाई संस्थापनपक्ष बनाउन उनी सफल हुने छन् वा छैनन्, एघारौँ महाधिवेशनले देखाउनेछ ।
मदनको विरासत–विद्याको हात
पोखरेलले पार्टीका लोकप्रिय महासचिव तथा पार्टी सिद्धान्त जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीसँग समेत नजिकको सम्पर्क सम्बन्धमा रहेक काम गरेका थिए । नेकपा (माले) स्थापना सम्मेलन मदन भण्डारीको गाउँ मोरङको इटहरा–सिजुवालाई आधार बनाएर भएको थियो । त्यतिबेलै देखि पोखरेल भण्डारीको निकट सम्पर्कमा पुगेका थिए । २०४६ सालअघिको भूमिगत परिवेशमा पोखरेल जनकपुर अञ्चलको राजनीतिक नेतृत्व गर्थे ।
पोखरेल आफैँ अध्यक्ष पदको आकांक्षी भने होइनन् । उनलाई अघि सार्न विद्या भण्डारीको हात छ । पूर्वराष्ट्रपति तथा मदन–पत्नी भण्डारी आफैँ पार्टी अध्यक्षको उम्मेदवार हुन चाहन्थिन् । उनले असारमा एक भेलामार्फत उम्मेदवारी घोषणासमेत गरीसकेकी थिइन् । तर, ओलीले भण्डारीको सदस्यता नै नवीकरण नभएको भन्दै रोकेपछि पोखरेलले अध्यक्ष पदको उम्मेदवार हुने अवसर पाएका हुन् ।
पोखरेलले आफू अध्यक्ष निर्वाचित भए भण्डारीको पार्टी सदस्यता स्थापित गर्ने प्रतिबद्धता गरेका छन् । त्यसो भए एमालेमा मदन भण्डारीको विरासत र विद्या भण्डारीको शक्ति पुनर्स्थापित हुनेछ । ओली स्वयं पाखा लाग्नुपर्ने वा राजनीतिक सन्यास लिनुपर्ने अवस्थमा पुग्न सक्नेछन् ।
जेन जी आन्दोलनको नसेलाएको राप
एमाले एघारौँ महाधिवेशन त्यस्तो समयमा हुँदै छ, भदौ २३–२४ गतेको जेन जी आन्दोलनको राप र मनोवैज्ञानिक प्रभाव सेलाई सकेको छैन । जेन जी आन्दोलनको मुख्य कारकतत्वका रूपमा ओलीको प्रधानमन्त्रीत्व र शासनशैली आम चित्रित छ । उनी नवयुवा आन्दोलनबाट फालिएका र आन्दोलनमा अत्यधिक बल प्रयोग र ‘नरसंहार’का लागि बदनाम छन् ।
नवयुवा आन्दोलनबाट अपदस्थ व्यक्तिलाई नै मूल नेताका रूपमा बोकेर पार्टीको भविष्य सुनिश्चित गर्न नसकिने चिन्ता एमालेपंक्तिमा व्याप्त छ । पार्टी नेतृत्वमा ओलीको दबदबाको कारण खुलेर बोल्न नसके पनि गोप्य मतदानमा यो भावना व्यक्त हुन सक्दछ । ओलीकै नेतृत्वमा आगामी चुनावमा जाँदा एमालेको जनमत घट्ने सम्भावना छ । पार्टी भविष्यको चिन्ता गर्ने गम्भीर प्रकृतिका वा तटस्थ महाधिवेशन प्रतिनिधिले पोखरेललाई विकल्प मान्न सक्नेछन् ।
आफ्नै बोलीको बन्धनमा ओली
पार्टी अध्यक्षमा हुनुअघि ओली अन्तर्पार्टी लोकतन्त्रको पैरवी र पक्षधरता गर्ने गर्थे । सातौँ, आठौँ र नवौँ महाधिवेशनमा ओलीका त्यस्ता विचार र धारणाले पार्टीभित्र राम्रो सहानुभूति पाउने गर्थ्यो । तर, नेतृत्वमा उनको उदयपछि अन्तर्पार्टी लोकतन्त्रको अवस्था झनै बिग्रियो । ओलीले निरंकुश, गुटबन्दीपूर्ण, फुटपरस्त र एकमनावादी कार्यशैली अवलम्बन गरे । ओलीको बाह्य छवि मात्र होइन, कम्युनिस्ट आन्दोलन र एमाले पार्टीभित्रको लोकतान्त्रिक छविसमेत राम्रो छैन ।
ओलीले माधव नेपाल–झलनाथ खनाल नेतृत्वकालमा दिएका अन्तर्वार्ता, प्रकाशित लेख र दस्तावेज यद्यपि उपलब्ध छन् । तिनमा ‘७० वर्ष उमेर हद’ र ‘दुई कार्यकाल अध्यक्ष’ को दृढ पैरवी गरिएको हुन्थ्यो । कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणलाई उनले मुख्य मुद्दा बनाउने गर्थे । ओली गुट कमजोर हुँदा धेरैले उनलाई यिनै विचार, मान्यताप्रतिको आकर्षणले साथ दिएका थिए।
तर, जब उनी आफू पार्टीसत्तामा आए, स्थिति अझै लथालिङ हुँदै गयो । ओलीको नेतृत्व शैलीले पार्टी विभाजित भयो । दुई पूर्वपार्टी प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, प्रभावशाली पार्टी नेता भीम रावल र घनश्याम भुसाल पार्टी छोड्न बाध्य भए ।
पार्टी विधानबाट हटाए पनि ७० वर्ष उमेर हद र दुई कार्यकाल अध्यक्षको मुद्दाले ओलीमाथि ठूलो नैतिक दबाब पर्नेछ । महाधिवेशन प्रतिनिधिले यो मुद्दा चर्को उठाउन सक्नेछन् । उठाउन नसके पनि धेरैको मनमा बिझेको हुन सक्दछ । पार्टीको अल्पमतपक्षमा हुँदा आफैँले उठाएका एजेण्डाप्रति ओली इमामन्दार नरहेको बुझाइ महाधिवेशन प्रतिनिधिमा बन्न सक्नेछ ।
यसअघि ओली यस्तो नैतिक दबाबमा थिएनन् । दशौँ महाधिवेशनका बेला उनी ७० वर्ष नकटेको र दुई कार्यकाल अध्यक्ष पूरा नगरेको अवस्थामा थिए ।
प्राप्त गर्न सक्दछन् शक्ति केन्द्रहरूको साथ
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय दलीय राजनीतिमा फर्किने इच्छा व्यक्त गर्नुको पछाडि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको समेत साथ समर्थन थियो भनिन्छ । ओलीको कार्यशैली र अविश्वासनीय कूटनीतिबाट सबैजसो छिमेकी देश र मित्र राष्ट्र हैरान हुँदै गएका थिए । विशेषतः कम्युनिस्ट मुलुक चीनले नेपालमा भरपर्दो राजनीतिक सहकार्यका लागि भण्डारीलाई अघि बढाउन चाहेको विश्लेषण गरिँदै थियो ।
पोखरेल एक प्रकारले भण्डारीकै ‘डमी उम्मेदवार’ हुन् । पोखरेलको हारजित भण्डारीको समेत प्रतिष्ठाको विषय हो । तसर्थ, पूर्वराष्ट्रपतिको हैसियत, सम्पर्क र पहुँचका आधारमा जुटाउन सक्ने सहयोग र समर्थन भण्डारीले पोखरेलका लागि जुटाउने प्रयास गर्नेछिन् ।
जेन जी आन्दोलनको पृष्ठभागमा भारत र अमेरिकाको उक्साहट वा घुसपैठ रहेको ओलीपक्षको आरोपले ती देशलाई स्वीकार्य हुन सक्ने कुरै भएन ।
अप्ठ्यारोमा पर्न सक्दछन् ओली
ओली भण्डारीसँग जति डराएका थिए, ईश्वर पोखरेलसँग भने त्यति आतंकित छैनन् । भण्डारीको तुलनामा पोखरेललाई ओलीपक्षले कमजोर प्रतिस्पर्धी ठानेको छ । तर,पोखरेलको उम्मेदवारी घोषणा, विद्या भण्डारीको साथ र पार्टी सचिवालयमा भइरहेको ध्रुवीकरणले ओलीलाई अप्ठ्यारो पर्न सक्ने संकेत दिइरहेको छ ।
पोखरेललाई साथ दिने मनस्थिति बनाएका एक एमाले नेता भन्छन् – ‘अहिले धेरै बोल्दा पार्टी अप्ठ्यारोमा परेका बेला खुच्चिङ गरे जस्तो देखिएला भनेर हो । धेरै नेता कार्यकर्ता अहिले मौन छन् । तर, ओली कार्यशैलीसँग रुष्ट हुने संख्या सानो छैन । अहिल्यै खुल्ल नसके पनि भित्रभित्रै ओलीको विरुद्धमा मतदान गर्ने संभावना रहन्छ ।’
१९ सदस्यीय केन्द्रीय सचिवालयमध्ये सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् । पोखरेलसहित उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई ६ जना ओलीको विरुद्धमा खुलेका छन् ।
ओलीपक्षमा अन्तिमसम्म उभिन सक्ने ओलीसहित उपाध्यक्ष गुरूप्रसाद बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णुप्रसाद रिमाल, सचिव छविलाल विश्वकर्मा र पद्माकुमारी अर्याल गरी ७ जना छन् ।
बाँकी उपाध्यक्ष रामबहादुर थापा बादल र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव लेखराज भट्ट र रघुविर महासेठबारे यसै भन्न सकिँदैन ।
अन्तिम क्षणको गुट परिवर्तन निर्णायक
एमालेको आन्तरिक अनुभव हेर्दा महाधिवेशनमा नेतृत्वका लागि मतदान हुनु अघिसम्म गुट परिवर्तन भइरहन्छ । केही नेताहरू ‘किङ मेकर’ को भूमिकामा देखा पर्दछन् । ती नेता जसको गुट परिवर्तनले परिणामलाई निर्णायक प्रभाव पार्दछ, त्यसले अन्तिम बेलातिर निर्णय लिने गर्दछ ।
आठौँ महाधिवेशनमा माधव नेपालको निर्णायक समर्थनले झलनाथ खनाल जिते । नवौं महाधिवेशनमा झलनाथ खनाल र वामदेव गौतमको अन्तिम बेलाको समर्थनले ओलीलाई जितायो । दशौं महाधिवेशन भने ओली नेतृत्वको एकछत्र महाधिवेशन थियो । ‘किङ’ र ‘किङमेकर’ दुवै ओली आफैँ थिए ।
यसपटक विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङको भूमिका निर्णायक हुन सक्ने ठानिँदै छ । यी दुवै नेता अहिलेसम्म विद्या गुटमा खुलेका छैनन् । तर, पार्टीभित्र नेतृत्व परिवर्तन आवश्यक भएको अनुभूतिमा बाँचेका छन् । अन्तिम बेलामा यिनले गुट परिवर्तन गरे पोखरेल ओलीमाथि हाबी हुने सम्भावना ह्वात्तै बढ्नेछ ।-नेपाल भ्युज




