धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण संस्थागत विद्यालयहरूले लिन पाउने मासिक शुल्कको अधिकतम सीमा (सिलिङ्ग) निर्धारण गरेको छ ।
नगर शिक्षा समितिको जेठ १६ गते बसेको बैठकको निर्णयअनुसार विद्यालयको वर्गीकरणका आधारमा शुल्कको सीमा निर्धारण गरिएको हो ।



उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार अब संस्थागत विद्यालयहरूले तोकिएको शुल्क सीमाभन्दा बढी रकम असुल गर्न पाउने छैनन् ।
निर्धारित शुल्क संरचनाअनुसार ईसीडीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि विद्यालयको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका आधारमा फरक फरक शुल्क तोकिएको छ ।
क वर्गका विद्यालयले कक्षा १० सम्म मासिक ८ हजार रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने अन्य वर्गका विद्यालयका लागि पनि न्यूनतम र अधिकतम शुल्क सीमा तय गरिएको छ ।
उपमहानगरपालिकाले मासिक शुल्कबाहेक अन्य शीर्षकमा लिइने शुल्कसमेत नियमन गरेको छ ।
विद्यालयले लिने अतिरिक्त शुल्कहरू विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०८१ तथा संस्थागत विद्यालय मापदण्ड निर्देशिका–२०८१ बमोजिम मात्रै लिनुपर्ने उल्लेख गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी सूचनामा निर्धारित शुल्क संरचना अनिवार्य रूपमा कार्यान्वयन गर्न सबै संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ ।
उपमहानगरपालिकाको यो निर्णयले निजी विद्यालयको शुल्क व्यवस्थापनमा एकरूपता ल्याउनुका साथै अभिभावकमाथि पर्ने आर्थिक भार नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।





