महोत्तरी – महोत्तरीको औरहीलगायत सम्पूर्ण मधेश क्षेत्रमा आज बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैती छठ पर्व सम्पन्न भएको छ।
चार दिनसम्म विभिन्न धार्मिक विधि–विधानका साथ मनाइने यस पर्वको चौथो दिन आज बिहान श्रद्धालु भक्तजनहरूले जलाशयमा पुगेर उदाउँदो सूर्यको पूजा गरेका हुन्।




महोत्तरीका औरही,गौशाला,सम्सी,बर्दिबास,मटिहानी,सुगा, पिपरा लगायतका स्थानसहित सदरमुकाम जलेश्वर तथा जिल्लाभरका सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी, तलाउ तथा जिल्लाका प्रमुख नदीहरू-बिग्ही, रातो मरहा, जङ्गहा र अङ्कुसी नदी तथा नहरका किनारमा धार्मिक विधिपूर्वक छठ मनाइएको छ।

सत्य र अहिंसाप्रति मानवको आस्था अभिवृद्धि गराउने तथा सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने यस पर्वको विशेष महत्त्व रहेको छ। सूर्य उपासनामा आधारित छठ पर्व संसारकै एक विशिष्ट पर्वका रूपमा परिचित छ, जसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गर्ने परम्परा रहेको छ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक स्वास्थ्य, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक मनाइने यस पर्वका अवसरमा पोखरी, नदी तथा विभिन्न जलाशयमा भक्तजनको उल्लेख्य भीड लागेको थियो।





































