धनुषा । आगामी आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नभएपछि नयाँ कमला पुल निर्माण संघर्ष समिति पुनः आन्दोलनमा उत्रिएको छ ।
समितिले सोमबार मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवलाई ज्ञापनपत्र बुझाउँदै पुल निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेको हो ।



संघर्ष समितिले प्रदेशसभा परिसरमा विरोध प्रदर्शनसमेत गर्दै संघीय सरकारले पूर्व सहमति विपरीत बजेट व्यवस्था नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।
समितिका संयोजक इन्जिनियर प्रविण यादवले संघीय सरकारसँग भएको सहमतिअनुसार पुल निर्माणका लागि बजेटको व्यवस्था हुने अपेक्षा गरिए पनि बजेटमा कुनै रकम नछुट्याइएकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो।
इन्जिनियर यादवका अनुसार नयाँ कमला पुल निर्माणका विषयमा संघर्ष समिति र मधेश प्रदेश सरकारबीच यसअघि भएको सहमतिअनुसार आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गर्न पहल गर्ने समझदारी भएको थियो ।
संघीय सरकारले बजेट उपलब्ध नगराएको अवस्थामा पुल निर्माणको सम्पूर्ण लागत मधेश प्रदेश सरकारले आफ्नै स्रोतबाट व्यहोर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति पनि भएको थियो ।
तर, संघीय बजेटमा पुल निर्माणका लागि कुनै व्यवस्था नगरिएपछि प्रदेश सरकारलाई आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिन प्रदेशसभामार्फत ध्यानाकर्षण गराइएको संयोजक यादवले बताउनुभयो ।
सभामुख यादवलाई बुझाइएको ज्ञापनपत्रमा संघीय सरकारले बजेट नदिएको अवस्थामा मधेश प्रदेश सरकारले आफ्नै स्रोतबाट आवश्यक बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ ।
मागप्रति बेवास्ता गरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि समितिले दिएको छ ।
सिरहा र धनुषा जिल्लालाई जोड्ने प्रस्तावित नयाँ कमला पुल वर्षौंदेखि स्थानीयवासीको प्रमुख मागका रूपमा रहँदै आएको छ ।
पुल निर्माण भए आवागमन सहज हुनुका साथै दुई जिल्लाबीचको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयवासीको विश्वास छ ।
संघर्ष समितिले अब आश्वासनभन्दा पनि कामको स्गुरुवात आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई तत्काल निर्णय गरी पुल निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।




