औरही – महोत्तरीमा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयको निर्माण गरिएको भवनको भुक्तानी दिन निर्माण व्यवसायी संग घुस लिएको आरोपमा रंगे हात पक्राउ परेका छन् ।
महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई ५० हजार घुसको रकम सहित पक्राउ गरिएको हो ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो।
विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि निर्माण व्यवसायीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
बिहीबार अपराह्न ५ बजे उनीहरुलाई अख्तियारले पक्रेको हो। अख्तियारले घटनास्थलमा मुचुल्का लगायतको काम गरिरहेको छ।




