महोत्तरी - औरही नगरपालिका–२ स्थित चेपकट गाउँ जाने सडकखण्डमा एक व्यक्तिको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२, मोहनगन्ज स्थायी घर भएका ५५ वर्षीय रामस्नेही सदा मृत अवस्थामा फेला परेका हुन्। सदा विगत १५ वर्षदेखि ससुराली घर औरही नगरपालिका–२ चेपकटमा बसोबास गर्दै आएका थिए।
उनि औरही नगरपालिका–७ स्थित हिरा इँटा उद्योगमा मजदुरी गर्दै आएका थिए। आइतबार साँझ काम सकेर घर फर्किएका सदा रक्सी सेवन गरी खाना खाएपछि श्रीमतीलाई बिरामी भएकाले औषधि खाएर सुत्न आग्रह गर्दै आफू आगो ताप्न जाने भन्दै घरबाट निस्किएका थिए। राति करिब ८ बजेको समयमा घरबाट निस्किएका सदा गाउँदेखि करिब ८ सय मिटर टाढा रहेको पिपलको रुखमुनी मृत अवस्थामा फेला परेका थिए। उक्त स्थानबाट करिब १०० मिटरको दूरीमा हिरा इँटा उद्योग रहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पिपलको रुखमा पहिलेदेखि बाँधिएको साइकलको टायरमा नरिवलको डोरी बाँधेर झुन्डिने प्रयास गरिएको देखिएको र डोरी चुँडिएपछि उनी तल खसेको हुन सक्ने अनुमान गरिएको छ। अत्यधिक मादक पदार्थ सेवनका कारण शरीर सम्हाल्न नसक्दा मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनास्थलको अवस्था हेर्दा आत्महत्याको आशंका गरिएको प्रहरीले जनाएको छ। मृतक सदाका दुई छोरा रहेका छन्। दुवै छोरा हाल भारतको मद्रासमा रोजगारीका लागि रहेका छन्।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। प्रहरी मुचुल्का टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य सम्पन्न गरिसकेको छ। शव पोस्टमार्टमका लागि बर्दिवास अस्पताल पठाइएको छ।




