
विशाल बस्नेत,बर्दिबास । महोत्तरीको गौशालामा विष सेवनबाट मृत्यु भएको भनिएकी आरतीदेवीलाई आफ्नै पतिले हत्या गरेको माइती पक्षले आरोप लगाएका छन्। माइती पक्षले हत्याको आशंकामा उजुरी दिएपछि प्रहरीले मृतकका पति उमेश साहलाई पक्राउ गरेको छ। मल्हनिया पोखरी बस्ने उमेशले आत्महत्या दुरुत्साहन गरेको भन्दै परिवारले उजुरी दिएको हो।
‘अनुहार राम्रो भएन भन्दै मेरी छोरीलाई ज्वाइँले दैनिक कुटपिट गरिरहन्थे। सबै मिलेर छोरीको हत्या गरेको आशंका हामीलाई छ,’ मृतकका बुबा वली साहले भने। ज्वाइँ र छोरीबीच विवाद बढेपछि केही दिनअघि वली छोरीको घरमा पुगेका थिए । वलीको अगाडि नै छोरीलार्ई कुटपिट गरेको पनि स्थानीय प्रत्यक्षदर्शीले बताए।
स्थानीय युवा निरञ्जन साहका अनुसार उनीहरूबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । ‘झगडाको वास्तविक कारण थाहा भएन, तर झगडा भइरहन्थ्यो,’ उनले भने । मृतक आरतीदेवीले पतिले यातना दिएको भन्दै पटक–पटक हारगुहार समेत गरेकी थिइन्। ‘झगडा मिलाइदिन र यातनाबाट मुक्त गरिदिन हामीसँग दर्जनौँ पटक अनुरोध पनि गरेकी थिइन्,’ साहले भने । गत मंसिरमा बहिनीको विवाहमा जनकपुर गएकी आरती लामो समय माइतमै बसेकी थिइन्।
माइतबाट फर्किएपछि फेरि पति उमेशले यातना दिएको स्थानीयको भनाइ छ। मृतकका भाइ गोविन्द साहका अनुसार दिदीकी सासू र नन्दले पनि उनलाइ यातना दिने गरेका थिए। घटना भएको २ दिनअघि आरतीकी नन्द आशाकुमारी साह घरबाट आएकी थिइन् । उनी आएकै समयमा विष खुवाएर आफ्नी छोरीको हत्या गरेको आरतीका हजुरबुबा बोजानन्द साहको आरोप छ।
मृतक आरतीको शव बर्दिबासस्थित इलाका प्रहरीले मुचुल्का गरेको छ । गौशाला इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। मृतकका जेठाजु विनोद साहले घर झगडा भए पनि माइती पक्षले आरोप लगाएजस्तो नभएको जिकिर गरे । ‘उनीहरूको झगडाचाहिँ हुन्थ्यो । तर, आरोप लगाएजस्तो भने होइन,’ उनले भने।
आरतीलाई उनकै पतिले अस्पतालसम्म पुर्याएका थिए। चिकित्सकहरूका अनुसार उनले मुसा मार्ने विष सेवन गरेकी थिइन् । बर्दिबासस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा नै उनको मृत्यु भएको थियो। ‘आरतीलाई ल्याउँदा सास चलिरहे पनि ब्लड प्रेसर शून्य थियो,’ उपचारमा संलग्न चिकित्सक डा. सन्तोष यादवले भने, ‘उपचारकै क्रममा १५ मिनेटपछि मृत्यु भयो। पोस्टमार्टमपछि थप कुरा खुल्ला । तर, हामीले शरीरमा भएको भनिएको निलडामको विषयमा खासै याद गरेनौँ,’ उनले भने । मृतक आरतीका ९ वर्षीय छोरा र ३ वर्षीया छोरी छन्।